राजनीति


ओलीको दाबी: आन्दोलनकारीलाई प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको छ

ओलीको दाबी: आन्दोलनकारीलाई प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएको छ

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १०:१७, काठमाडौँ

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीसँग हुँदै नभएको हतियारबाट गोली हानिएको पाइएको दाबी गरेका छन्। 

संविधान दिवसका अवसरमा आज (असोज ३ गते) शुभकामना सन्देश जारी गर्दै उनले यही भदौ २३ गते जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारबाट भएको दमनलाई गम्भीर र रहस्यमय रूपमा प्रस्तुत गरेका हुन्। 

‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन’, एमाले अध्यक्षसमेत रहेका ओलीले भनेका छन्, ‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।’

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले पहिलो दिन भदौ २३ गते काठमाडौँसहित देशका विभिन्न स्थानमा गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ युवा मारिएका थिए। जसमा बानेश्वरमा मात्र १७ जना मारिएका थिए भने २ जना विराटनगरमा मारिएका थिए। 

यस्तो छ, ओलीको पूरा वक्तव्य–

दिदीबहिनी तथा दाजुभाइहरू!

आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैँले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन। लोकतान्त्रिक गणतन्त्र, संघीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन।

यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ। नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो। तसर्थ नेपालको संविधान नेपाली जनताले आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो। 

संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरू बनाइरहेका थियौँ। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौँ। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौँ। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौँ। अर्थतन्त्र तंग्रँदै थियो।

गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो- आह्वानकर्ताले भनेझैँ। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ। त्यस घटनाप्रति म फेरि दु:ख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।

हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ- नेपालको नक्सा जलाइएको छ, देशको निसानी मेटाउन खोजिएको छ।

जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।

यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैँ बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैँ महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भिडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैँ बुझ्ने छ।

तर, यो कुरा समय छँदै बुझ्नुपर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ।

हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नुभएको छ। देशको सिमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको  झन्‌झन् गाढा सम्झना गराउने छ।

हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ- सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय संकटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।

मेरो सबैमा अपिल छ-

संविधान जोगाऔँ, सार्वभौमसत्ताको रक्षा गरौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad