राष्ट्रपति रामचन्द्र पौडलले आफू अब संविधानभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार बिहान विभिन्न क्षेत्रका नागरिक अगुवाहरूसँगको भेटमा उनले यसअघि आन्दोलनले सिर्जना गरेको बाध्यात्मक परिस्थितिमा राज्यलाई निकास दिँदा केही तलमाथि भए पनि अब त्यस्तो नहुने बताएका हुन्।
‘यसअघि बाध्यात्मक परिस्थितिले गर्दा संविधानमा केही तलमाथि हुन गए पनि अब सबै काम संविधानसम्मत नै हुन्छ,’ राष्ट्रपतिसँगको भेटपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पौडेलको भनाइ उद्धृत गर्दै नेपालखबरसँग भने, ‘राष्ट्रपतिले हामीसँग म संविधानभन्दा बाहिर जान मिल्दैन। प्रधानमन्त्रीले पनि मिल्दैन। दलहरू सबै चुनावमा जानुपर्छ भन्नुभएको छ।’
विभिन्न क्षेत्रमा क्रियाशील १४ जना नागरिक अगुवाहरूले राष्ट्रपति समक्ष चारबुँदे सुझाव पनि पेश गरेका छन्।
उनीहरूले संविधानबाट बाहिर गएर अनावश्यक अध्यादेश जारी नगर्न पनि पौडेललाई सचेत गराएका छन्। ‘उहाँले संविधानभन्दा बाहिर गएर अध्यादेश जारी नगर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ भट्टराईले भने।


Shares

प्रतिक्रिया