जेनजीको प्रदर्शनमा प्रहरीको चर्को दमन भएपछि सुरु भएको आगजनी र तोडफोडले काठमाडौँ उपत्यका निकै आक्रान्त भयो।
सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएर सेना पनि ब्यारेक फर्किसकेको छ। र, विस्तारै काठमाडौँको जनजीवन सामान्य लयमा फर्किँदै छ।
यही मेसोमा उपसभामुख इन्दिरा रानागमर आज सिंहदरबारस्थित उपसभामुख कार्यालय र भैँसेपाटीस्थित क्वार्टरमा पुगिन्।
सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालय र अधिकांश मन्त्रालय आगजनीको सिकार हुँदा संघीय संसद् सचिवालयमा रहेको उनको कार्यालय भने जोगिएको रहेछ।
‘म अफिस गएको थिएँ, अफिस त जानुपर्यो नि,’ नेपालखबरसँग रानाले भनिन्, ‘हाम्रो त गएको छैन (अफिस केही भएको छैन) नि त।’
घरजस्तै बनाएको क्वार्टर तहसनहस
ललितपुरको भैँसेपाटीमा नयाँ मन्त्री क्वार्टर बनेको थियो। पुल्चोकबाट मन्त्रीहरू त्यहाँ सरेको पनि धेरै भएको थिएन।
सभामुख बालुवाटारमा बस्ने भए पनि उपसभामुखका लागि बने त्यही मन्त्री क्वार्टरमै निवासको व्यवस्था गरिएको छ।
त्यसैले इन्दिराको निवास पनि त्यही थियो। जेनजीको नाममा तोडफोड र आगजनी हुँदा संयोगले उनी सिंहदरबारमा थिइन्।
तर, त्यहाँ आगजनी र तोडफोड भएपछि उनी निवास गएकी थिइनन्। आज जाँदा भने उनले सबै तहनहस भएको देखिन्।
‘त्यहाँ मेरो सबै समानहरू तोडफोड गरेको रहेछ,’ इन्दिराको दुखेसो छ, ‘फूलहरू, बिरुवाहरू रोपेको थिएँ। घरजस्तै बनाएको थिएँ। त्यो केही पनि बाँकी रहेनछ।’
अनि महत्वूर्ण दस्ताबेजहरू समेत लुटपाट र आगजनीमा परेको देख्दा उनलाई थकथकी लागि रहेको छ।
‘मेरो सामानहरू, डकुमेन्टहरू चाहिँ धेरै गयो,’ रानाले सुनाइन्, ‘हार्ड ड्राइभमा भएको मेरो स्पिचहरू पनि सबै गयो।’
आफ्ना निजी गाडी जोगिएकोमा भने उनलाई थोरै भए पनि राहत भएको छ।
‘मेरो गाडी त दुईवटै जोगाएँ, एउटा बिग्रेर वर्कशपमा राखिदिएको थिएँ,’ राना भन्छिन्, ‘एउटा आफैसँग लिएर आएर जोगाएँ।’
सिंहदरबारको त्यो आगजनी
२४ गते देशभरि तोडफोड र आगजनी हुँदा उनी सिंहदबारमा थिइन्। अनि सिंहदरबारमै पनि आगजनी भएपछि उनी सुरक्षाकर्मीको एस्कोर्टिङमा त्यहाँबाट बाहिरिएकी थिइन्।
‘म सिंहदरबारमा थिँए, सम्माननीयज्यूहरू एस्कोर्टिङ लिएर बाहिर जानुभयो,’ रानाले सुनाइन्, ‘म सिंहदरबार रातभरि कहाँ बस्नु भनेर जोखिम लिएर उहाँहरूको पछिपछि जय नेपाल हलसम्म गएँ।’
त्यसपछि उनी आफूले सञ्चालन गरिरहेको ‘चिल्ड्रेन होम’तिर लागेकी थिइन्।
Shares

प्रतिक्रिया