ad ad

राजनीति


गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल

गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ६:२८,

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको त्रासका कारण गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्।

प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुखसँगको छलफलमा मुख्यमन्त्री पौडेलले भारत तथा अन्य देशबाट समेत रोजगारी गुमाएर फर्कनसक्ने लाखौँ युवाबारे ध्यान दिन सकिएन भने त्यसले गम्भीर असर गर्नसक्ने बताए।

उनले एकल तथा सामूहिक एवं चक्लाबन्दी खेतीलाई व्यवस्थित गर्ने, पशुपालनलगायत कृषिमा रोजगारी एवं स्वरोजगारीको अवसर सिर्जना गर्नसक्ने हो भने त्यस्ता जनशक्तिको व्यवस्थापन हुने धारणा राखे।

मुख्यमन्त्री पौडेलले अब हिजो बाँझो भएको खेत जोत्नुपर्ने र उत्पादनमा लाग्नुपर्ने बताए। ‘अब हरेक स्थानीय तहले कहाँ–कति खेतबारी बाँझो छन् र त्यसलाई कसरी उर्वर बनाउन सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ’, मुख्यमन्त्री पौडेलले भने।

उनले लकडाउनको अवधिमा रोकिएका साना विकास निर्माणका काम र कृषि उद्यमलाई सावधानीसहित र पूर्ण सुरक्षाका साथ पुनःसञ्चालन गर्न अनुरोध गए। पौडेलले स्थानीय प्रशासनको निर्देशन मान्ने गरी प्रत्यक्ष निगरानीमा एउटै परिवारका सदस्य मिलेर सञ्चालन भएका तथा थोरै जनशक्ति भएका आवासीय घरेलु तथा साना उद्योग त्यसैलाई क्वारेन्टिन मानेर सञ्चालन गराउन अनुरोध गरे।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको महामरीबाट बच्न विदेशबाट आएका हरेक नागरिक र तिनीसँग सम्पर्कमा रहेका आफन्तको परीक्षण गर्नुपर्ने हुँदा उनीहरुको खोजी गरी परीक्षण गर्नुपर्ने बताए। कतिपय त्यस्ता नागरिक लुकेरसमेत बसेको पाइएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो।

मुख्ययमन्त्री पौडेलले विभिन्न स्थानबाट गाउँ फर्कँदै गरेका नागरिक जो–कोहीलाई पनि गाउँ फर्कन व्यवस्था मिलाउन निर्देशन दिए। उनले खाद्य सामग्री पु¥याएर रित्तै फर्किएका गाडीमा उनीहरुलाई पठाउँदा खर्चसमेत नलाग्ने भएकाले स्थानीय प्रशासनसँग समन्वय गरेर पठाउन अनुरोध गरे।

मुख्यमन्त्री पौडेलले सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिका, मेलम्ची नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, शिवपुरी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका प्रमुखसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका हुन्।

त्यस्तै मख्यमन्त्री पौडेलले आज दिउँसो १ बजे रसुवा र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग कुराकानी गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .