ad ad

समाज


नेपालमा बन्याे 'एसियाकै लामो झोलुंगे पुल'

नेपालमा बन्याे 'एसियाकै लामो झोलुंगे पुल'

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ६:३२,

नेपालमा एक वर्षदेखि निर्माण भइरहेकाे एसियाकै लामो झोलुंगे पुल पूरा भएकाे छ।

पर्वतको कुश्मा नगरपालिका-१ पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका-१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लामो झोलुंगे पुल निर्माण पूरा भएको हो।

नेपाली इन्जियिनरले नै डिजाइन गरेका यो पुल एसियाकै लामो पुल भएको निर्माण कम्पनीको दाबी छ।

पुलमा यसै साता आवतजावत सुरु भएको निर्माण कम्पनी थानी, बीएलटी हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए। आज मंगलबार पुलको औपचारिक उद्घाटन गर्ने पूर्वकार्यक्रम लकडाउनका कारण रोकिएको उनले बताए।

कालिगण्डकी नदीको १ सय ३० मिटरमाथि बनाइएकाे झोलुंगे पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि आधुनिक प्रविधिको सहायताले नमुना परियोजना सम्पन्न गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि खड्काको भनाइ छ।

लकडाउन अवधिमा पनि १६ कामदारले नियमित काम गरेका थिए। काम सकिएपछि उनीहरू पाङतर्फको भागमा बसेका छन्।

ठेकेदार कम्पनीका प्रतिनिधि खड्काका अनुसार पुलमा २८ वटा लठ्ठा तानिएका छन् भने कूल ९ सय ४५ स्टिलडेक  फ्ल्याक बिछ्याइएका छन्।

प्रति वर्गफिटमा चार जना अट्न सक्ने पुलकाे भरिभराउ भए पनि थेग्न सक्ने क्षमता छ। पुल लामो भएकाले बाइक सञ्चालनमा रोक लगाइने छ। पुलको आयु ५० वर्षसम्म छ।

पुल निर्माणपछि बागलुङ बजारमा व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिकावासीलगायत जनताकाे सहज पहुँच पुग्नेछ।

कालिगण्डकी नदीमाथि बनेको उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने कुश्मा नगरपालिका-१ पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए।

‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी थानी बीएलटी हिमशिखर जेभी निर्माण कम्पनीले ६ करोड ९१ लाखमा ठेक्का लिएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .