प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजी अगुवा भनिएका सुदन गुरुङको समूहले गएराति प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) अगाडि नाराबाजी गरेको छ।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरूले आइतबार मध्यराति बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्।
त्यस क्रममा गुरुङले ओमप्रकाश अर्याललाई मन्त्री बनाइएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका थिए। फेरि आन्दोलन हुन सक्ने चेतावनी दिएका थिए।
प्रदर्शनकारीले भनेका छन्, ‘हामी फेरि सडकमा आयौँ भने कसैले रोक्न सक्दैन।’
उनीहरूले मुर्दामाथि राजनीति नगर नारा लगाएका थिए। एक प्रदर्शनकारी भन्दै थिए, ‘यो आन्दोलनको नेतृत्वर्कता हामी हौँ, हाइज्याक गरेका छन्- कुनै कुनै साथीहरूले।’
पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय- भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्।
उनले यी नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेकी छन्। उनीहरूको शपथ आज गराउने तयारी रहेको सोमबार हुने शीतल निवास स्रोतले जानकारी दिएको छ।
जेनजी आन्दोलनकै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकार प्रमुख (प्रधानमन्त्री) बनेकी हुन्।
तत्कालीन ओली नेतृत्वको सरकारले दर्ता नगरिएको भन्दै फेसबुक, एक्स, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय (भदौ १९ गते) गरेको ३ दिनपछि भदौ २३ गते जेनजी (नवयुवा पुस्ता) ले काठमाडौँसहित देशका विभिन्न सरहरमा प्रदर्शन गरेको थियो।
त्यस क्रममा सरकारले दमन गर्दा प्रहरीको गोली लागेर काठमाडौँको बानेश्वरमा १७ जना र विराटनगरमा २ जना आन्दोलनकारी मारिएका थिए भने सयौँ घाइते भएका थिए।
त्यसपछि भोलिपल्ट भदौ २४ गते उग्र बनेका प्रदर्शनकारीले नेताका घर, सार्वजनिक संस्था, व्यापारिक प्रतिष्ठान मात्र होइन, संसद् भवन, सिंहदरबार र सर्वाेच्च अदालतसमेत जलाइदिए। घरभित्रै पसेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दम्पती नै कुटिएपछि बाध्य भएर ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
जेनजी आन्दोलनले यति भयानक रूप लिएको थियो कि प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेर राख्नुपरेको थियो।
देश सरकारविहीन भएपछि प्रधानसेनापति अशोकराज सिग्देलको सहजीकरणमा जेनजी आन्दोलनका प्रतिनिधिसँग लामो वार्तापछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तिरम प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्। लगत्तै उनकै सिफारिसबमोजिम राष्ट्रपतिले संसद् (प्रतिनिधि सभा) विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा गरेका छन्।
जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको अन्तरिम सरकारले जनाएको छ। अझै कैयौँ घाइते अस्पतालको शय्यामा छन्।
Shares

प्रतिक्रिया