राजनीति


मलाई कसैले बधाई नभनोस्, कार्यकाल सकिएपछि मूल्यांकन होस्: प्रधानमन्त्री कार्की

मलाई कसैले बधाई नभनोस्, कार्यकाल सकिएपछि मूल्यांकन होस्: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका घाइतेसँग राष्ट्रिय ट्रमा सेन्टरमा


नेपालखबर
भदौ २८, २०८२ शनिबार २१:६, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई अहिले बधाइ नदिन आग्रह गरेकी छन्।

अहिले निकै अप्रिय अवस्थाबाट आफू प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेकाले आफ्नो कार्यकाल सकिएपछि मात्र मूल्यांकन गरिदिन उनको अनुरोध छ।

उनले शनिबार काठमाडौँका विभिन्न अस्पतालमा रहेका जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेकी थिइन्। राष्ट्रिय ट्रमा सेन्टर हुँदै निजामती कर्मचारी अस्पताल र अन्य घाइते रहेका अस्पतालका शय्यामै पुगेर उनले घाइतेहरुको अवस्थाबारे जानकारी लिइन्। शान्त्वना दिइन्। भएको क्षतिप्रति दुःख व्यक्त गरिन्। अनि जेनजी आन्दोलनका लागि ज्यानको बलिदानी दिन मैदानमा उत्रिएका प्रत्येक युवाको भावनाभन्दा बाहिर नजाने वाचा गरिन्।

घाइतेहरुले कार्कीलाई पहिलो महिला प्रधानमन्त्री भएर जसरी इतिहासमा नाम लिएको छ, त्यसै गरी जेनजीको भावनाअनुसार काम गरी अर्को इतिहास रच्न शुभकामना दिए। 

‘आन्दोलनले जुन जिम्मेवारी र म्यान्डेट दिएको छ, त्यो पूरा गरेर इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिने गरी काम गर्न सफलता मिलोस्, हाम्रो शुभकामना छ,’ ट्रमा सेन्टरको शय्याबाट एक जना घाइतेले भने।

जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मलाई कसैले बधाइ नभनोस्। मेरो कार्यकाल सकिएको भोलिपल्ट मात्र कामका आधारमा मूल्यांकन होस्।’

घाइतेले भने, ‘तीन करोड नेपालीको आमा र अभिभावकका रुपमा काम गर्नुहोला।’

कार्कीले भनिन्, ‘तपाईँ पनि मेरो छोरा हो। 

अस्पतालपछि उनी प्रदर्शनकारीले ध्वस्त पारेका प्रहरी कार्यालय र घाइते प्रहरीलाई भेट्न प्रहरी अस्पताल पुगेकी थिइन्।

कार्की शुक्रबार मात्र प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। उनी बिहीबार रातभरि शीतलनिवासमा वार्तामा बसेकी थिइन्। शुक्रबार पनि दिनभरको रस्साकस्सीपछि राति ९ बजे नियुक्ति भएको थियो। शपथ र अरु केही औपचारिकता पूरा गर्दासम्म १० बजिसकेको थियो।  

शीतलनिवासमै उनले संसद विघटनको सिफारिस गरिन् र राष्ट्रपतिले सदर गरे। राति सवा १० बजेतिर उनी बालुवाटारको प्रधानमन्त्री निवास पुगिन्। उनी त्यहीबेला घाइतेहरुलाई भेट्न जान चाहन्थिन्। तर, धेरैतिर जाँदा लामो समय लाग्ने र सुरक्षा संवेदनशीलता भएको भन्दै सुरक्षा संयन्त्रले उनलाई राति बाहिर निस्किन नहुने सुझाव दियो।

त्यसपछि मध्यरातसम्म उनले विभिन्न पक्षसँग परामर्श र सरकारले गर्नुपर्ने आगामी कामका बारेमा गृहकार्य गरिन्। निद्रा पुगेकै थिएन। शनिबार बिहानैबाट उनले केही कानुनी प्रक्रियाबारे गृहकार्य गर्न टिमलाई खटाइन्। मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई तत्काल थाती राखिन् र अस्पतालहरुमा घाइते भेट्न निस्किएकी हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad