धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिएका छन्।
कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीशको रुपमा इतिहास रचेकी थिइन् भने अहिले पहिलो महिला प्रधानमन्त्री बनेर अर्को कीर्तिमान कायम गरेको हमालले उल्लेख गरे।
हमालले देशमा बेरोजगारी र असमानताको प्रमुख कारण भ्रष्टाचार भएको उल्लेख गर्दै यसको विरुद्ध तुरुन्तै कठोर कदम चाल्न सरकारलाई आग्रह गरेका छन्। उनको भनाइ , ‘भ्रष्टाचार रहेसम्म सुशासन सम्भव छैन, र सुशासन नभएसम्म देश प्रगतिपथमा अघि बढ्न सक्दैन।’
भिडिओ
उनले एक साताभित्र भ्रष्टाचारमा संलग्न व्यक्तिलाई अभियोगसहित कारबाही गर्न, सम्पत्ति राष्ट्रियकरण गर्न र जेल सजाय दिलाउन माग गरेका छन्। साथै, हालैको आन्दोलनका क्रममा मारिएका व्यक्तिको संख्या र विवरणमा अन्योल देखिएकाले सरकारले सहिदहरूको सही तथ्यांक सार्वजनिक गर्नुपर्ने आग्रह समेत गरेका छन्।
हमालले घाइतेहरूको अवस्था र उपचारबारे समेत स्पष्ट विवरण सार्वजनिक गर्न सरकारलाई अनुरोध गरेका छन्। ‘नयाँ अन्तरिम सरकारको नेतृत्व लिनुभएका प्रधानमन्त्रीज्यूले पारदर्शिता र न्याय सुनिश्चित गर्न कदम चाल्नुहुने अपेक्षा गर्दछु,’ हमालको भनाइ छ।
Shares

प्रतिक्रिया