नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश भयंकर प्रतिकूलताको बाटोमा हिँडेको बताएका छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा शुक्रबार राति गठित अन्तरिम सरकार र त्यसपछि गरिएको संसद् विघटनले संवैधानिक प्रश्न उठाएको उनको भनाइ छ।
‘प्रतिकूल राजनीतिक परिस्थितिको बीचबाट देशले नयाँ प्रधानमन्त्री प्राप्त गरेको अवस्था छ। तोकिएको कार्यभारलाई सफलतापूर्वक, सबलतापूर्वक सम्पादन गर्न उहाँ सक्नुहुनेछ सक्नुपर्दछ। शुभकामना पनि दिन चाहन्छु’, शनिबार भिडिओ सन्देश जारी गरी कांग्रेस महामन्त्री शर्माले भनेका छन्, ‘तर यसका पछिल्लोतिर केही गम्भीर संवैधानिक प्रश्न पनि छन्। ड्रिन अफ नेसेसिटी जो भनिन्छ। आवश्यकताको सिद्धान्त। हाम्रो आग्रह थियो- सम्मानीय राष्ट्रपतिज्यूलाई कि त्यसलाई पनि संविधानको प्रक्रियाभित्र ल्याउन सकिन्छ। सम्माननीय सभामुखलाई पनि हामीले आग्रह गरेका थियौँ- संसद्मा नरहेको सदस्यलाई पनि विशिष्ट परिस्थितिमा निश्चित समयावधि र निश्चित दायित्व तोकेर राष्ट्रपतिले मनोनयन गर्न मिल्ने कुनै प्रावधानको व्यवस्थापन गर्न सकिन्छ, शनिबार भिडिओ सन्देश जारी गरी कांग्रेस महामन्त्री शर्माले भनेका छन्, अहिलेको अवस्थामा आइपुग्दै गर्दाखेरि देशले साँच्चै ठूलो प्रतिकूलताको बाटो हिँडेको छ।’
यस क्रममा उनले आफ्ना पार्टी सभापति शेरबहादुर देउवालाई राजनीतिबाट विश्राम लिन आग्रह गरेको कुरा पनि सम्झिएका छन्। अनि नेतृत्वले गरेका केही गल्तीका कारण कांग्रेसले गरेका धेरैवटा राम्रा कामचाहिँ ओझेलमा परेको र आजको स्थिति आएको जिकिर पनि कांग्रेस महामन्त्री शर्माले गरेका छन्।
देशलाई स्वतन्त्रता दिलाउन, माओवादीको सशस्त्र विद्रोहलाई शान्तिको मार्गमा ल्याउनलगायत काम गरेको कांग्रेसले के गल्ती गर्यो भनेर उनले प्रश्न पनि गरेका छन्।
‘देशलाई स्वतन्त्रता दिलायो कांग्रेसले, के गल्ती गर्यो? राणाबाट समावेशताको जग बसायो, बीपीको मन्त्रिमण्डल हुँदै कांग्रेसले के गल्ती गर्यो? ३० वर्षसम्म जेल र प्रवास गएर राखिँदै गर्दा, गोली खाएर कैयौँ साथीहरू मर्दै गर्दा प्रजातन्त्रको दीपलाई जोगाएर राख्यो कांग्रेसले के गल्ती गर्यो’, शर्माले सोधेका छन्, ‘सम्झिनुस् त– सशस्त्र विद्रोह। हिजोअस्ति भर्खर कैयौँका कैयौँ सयका सय सदरमुकाममा भिडन्तमा मारिएको त्यो दृश्यको बीचबाट देशले आर्तनाद गरिरहेको बेला सास फेर्न पाऊँ भनेर एउटा व्यापारी, व्यवसायी, शिक्षक, कर्मचारी हरेक नागरिकले भनिरहेको बेला शान्तिको झण्डा उठाइराखेर देशलाई शान्तिमा लिएर जानलाई माओवादीलाई समेत समन्वय गर्यो त कांग्रेसले के गल्ती गर्यो?’
यस्तो छ विश्वप्रकाश शर्माको पूरा भनाइ:
नमस्कार, जय नेपाल!
प्रतिकूल राजनीतिक परिस्थितिको बीचबाट देशले नयाँ प्रधानमन्त्री प्राप्त गरेको अवस्था छ। तोकिएको कार्यभारलाई सफलतापूर्वक, सबलतापूर्वक सम्पादन गर्न उहाँ सक्नुहुनेछ सक्नुपर्दछ। शुभकामना पनि दिन चाहन्छु।
तर यसका पछिल्लोतिर केही गम्भीर संवैधानिक प्रश्न पनि छन्। ड्रिन अफ नेसेसिटी जो भनिन्छ। आवश्यकताको सिद्धान्त हाम्रो आग्रह थियो- सम्मानीय राष्ट्रपतिज्यूलाई कि त्यसलाई पनि संविधानको प्रक्रियाभित्र ल्याउन सकिन्छ। सम्माननीय सभामुखलाई पनि हामीले आग्रह गरेका थियौँ- संसद्मा नरहेको सदस्यलाई पनि विशिष्ट परिस्थितिमा निश्चित समयावधि र निश्चित दायित्व तोकेर राष्ट्रपतिले मनोनयन गर्न मिल्ने कुनै प्रावधानको व्यवस्थापन गर्न सकिन्छ।
तर त्यो बाटोमा नहिँडीकन त्यो प्रक्रियामा नभित्रीकन अन्तत: देशले प्रधानमन्त्री पाएको अवस्था छ। यसका बारे पक्ष-विपक्षका विमति सहमतिका मतहरू पनि हुन्छन् नै। हुनुपर्दछ नै। यो लोकतन्त्रको स्वाभाविक विषय पनि हो।
नेपाली कांग्रेस पार्टीको हिजो नै हामी कार्यसम्पादन समितिको बैठक पनि जुम मार्फतबाट बस्यौँ। हाम्रा बिचमा यही प्रकृतिका धारणाहरू पनि रहे। तर सँगैमा संविधानको सन्दर्भमा उब्जिएको प्रश्नमा फेरी उत्तिकै संयमता र जिम्मेवारी बोधका साथ हामी बिचमा यो पनि रह्यो कि हामीले फेरि पनि देशले सही मार्ग लियोस् भन्नका लागि संयम र परिपक्वताका साथ अग्रसर हुनुपर्छ। नया हुन्, पुराना हुन्- राजनीतिक दल या नेपालको राजनीतिमा प्रभाव राखिरहेका पछिल्लो समय ऊर्जाका साथ उदाएका जेनजी पुस्ता हुन्। बौद्धिक क्षेत्र होस्, मिडिया होस्, सबैसँगको समन्वयका साथ देशले एउटा निष्कर्षमा एउटा बाटोमा पुग्नेको लागि हामीले पनि भूमिका महत्त्वपूर्णसँग निर्वाह गर्नुपर्छ भन्ने कुरामा हामी सहमत पनि रह्यौँ।
अहिलेको अवस्थामा आइपुग्दै गर्दाखेरि देशले साँच्चै ठूलो प्रतिकूलताको बाटो हिँडेको छ। पार्टीको एउटा जिम्मेवार सदस्यको रूपमा स्वाभाविक छ- यो अवधिको बीचमा थुप्रै सक्रियता आन्तरिक रूपमा निर्वाह गर्नुपर्यो। सम्माननीय राष्ट्रपतिज्यूमा केही धारणाहरू बनाउने कुरा, हाम्रो धारणालाई लगिङ गर्ने कुरा, पार्टीका साथीहरूसँग सम्पर्कमा रहेर नेपाली कांग्रेस पार्टीको धारणा दुइटा महामन्त्रीमार्फतबाट सार्वजनिक रूपमा व्यक्त गर्ने कुरा, साथीहरूलाई ढाडस दिने कुरा- यी हाम्रो आन्तरिक जीवनका विषय थिए।
त्यो गर्ने कुरामा बढी व्यस्त रहँदै गर्दाखेरि लिखितम वक्तव्यमार्फत त बाहिर आउँदै गर्दाखेरि कतिपय साथीहरूले चासो पनि राख्नुभयो कि विश्व प्रकाश शर्मा भिडिओमार्फत त बोलिरहेको छैन, किन अहिलेको सञ्जजालको समयमा त्यो लेखिएका अक्षरमा भन्दा पनि देखिएको अनुहारका साथ गरिने कुरालाई मात्रै गरिएजस्तो पनि बुझ्ने एउटा हाम्रो प्रचलन पनि छँदै छ।
भिडिओ:
म आन्तरिक रूपमा बढी व्यस्त पनि रहेँ। काम पनि गरेँ। काममा सक्रिय पनि भएँ। हिजो मात्रै भनेँ- नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय पनि पुगेँ। कार्यालयमा जलेको ठाउँहरूमा पुगेर पुस्तकालयसम्म जलेको, ध्वस्त भएको चित्रलाई पनि हेरेर साथीहरूलाई पनि त्यहाँ केही भेटेर फर्किएँ। हिजो नै सर्वोच्च अदालतको छेउमा संसद् भवनको छेउमा पुगिराखेर पनि त्यहाँ भएको क्षतिलाई परबाट नियाल्ने प्रयास गरेँ।
त्यो क्षति जति दु:खद् छ, त्यो भन्दा ठुलो दु:खद त २३ गतेका दिन बानेश्वरमा भएको होरहार युवाहरूको सहादत त्यो दु:खद छ। हामी आत्मालोचित छौँ। वक्तव्यमार्फत पनि हामीले भन्यौँ कि समयमै हस्तक्षेप गर्न हामी हामीले सकेनौँ, अरूलाई दोष लगाइराखेर मात्रै हाम्रो कर्तव्य पूरा हुँदैन।
नेपाली कांग्रेस पार्टीका अर्का महामन्त्री गगन कुमार थापा र मेरो बीचमा संवाद हुँदै गर्दा, सल्लाह हुँदै गर्दा हामी त्यो निष्कर्षमा पनि पुग्यौँ। त्यो दिन जे भएको छ, त्यो घटनालाई नयाँ बनेको सरकारले उच्चस्तरीय छानबिन बनाएर जो दोषी हो प्रत्येकलाई कारबाहीको कठघरामा लिएर आउनुपर्छ। हामीले अपिल गरिसकेकै छौँ- जीवन गुमाएका ती होनहार युवाहरूको आत्माले स्वर्गमा शान्ति प्राप्त गर्न सक्ने गरी हामीले आगामी दिनमा काम गर्नु छ। त्यो संकल्प पनि गर्नु छ।
यो परिस्थितिको भोलिपल्ट त्यो घटनाको भोलिपल्ट जे जस्तो ध्वंस भएको छ, के जेनजी पुस्ताले चाहेको थियो कि देशको सर्वोच्च अदालत ध्वस्त होस् कि त्यो माग थियो र बिलकुलै थिएन। के जेन-जेड पुस्ताको अपेक्षा थियो कि सबैको साझा थलोको रूपमा रहेको संसद् ध्वस्त होस्। घोषित थियो र आन्दोलनमा। त्यो बिलकुलै थिएन।
के जेनजी पुस्ताले जति पनि व्यावसायिक प्रतिष्ठानहरू ध्वस्त भए, के त्यो अपेक्षा गरेको थियो र! जहाँ-जहाँ व्यापारिक प्रतिष्ठानहरू ध्वस्त भएका छन् नि, त्यहाँनिर सानो पसलको कर्मचारी भएर काम गर्दै गरेकाहरूले प्राप्त गर्ने आय अब गुमेको छ। हजारौँको रोजगारी यो अवधिमा गुमेको छ। यो ध्वंशको कारण।
त्यसैले जेनजी पुस्ताको पनि अपेक्षा त्यो थिएन। त्यहाँ जो घुसपैठ गरे। जो गएर चाहिँ जेनजीको नाममा अरू दलका मानिसहरू पनि गए। अरू विभिन्न अवाञ्छित तत्त्वहरू पनि जो घुसे ती सबको बारेमा पनि नयाँ सरकारले छानबिन गरेर कारबाही गरिनुपर्ने कुरामा हामीले जोडदारसँग माग गरेका छौँ। फेरि पनि माग गर्न चाहन्छौँ।
भ्रष्टाचारको विषयसँग मुलुक आक्रान्त थियो नै। त्यसैले सरकारले उच्च आयोग बनाइराखेर ४६ सालपछाडिका अथवा अगाडिका पनि जोडेर सरकारमा पुगेका प्रत्येक या सरकारमा मन्त्रीका रूपमा नपुगेका विश्वप्रकाशजस्ता पार्टीको निश्चित जिम्मेवारीमा पुगेका सबैको सम्पत्तिलाई छानबिन गरेर अनधिकृत रूपमा प्राप्त गरेको जे जहाँ जसको भेटिन्छ, त्यसलाई जफत गरेर राष्ट्रको ढुकुटीमा ल्याउने गरी कानुनी प्रबन्धमार्फत अनि सजायको कानुनी कठघरामा उभिएर पुग्नुपर्ने सजायको लागि पनि नयाँ सरकारमार्फत सुविचारित र संयमताका साथ कार्य हुनुपर्दछ।
हामी त्यो पनि आग्रह गरिसकेका छौँ लिखित रूपमा। फेरि पनि म दोहोर्याउन चाहन्छु। आदरणीय आमाबुबा दिदीबहिनी दाजुभाइहरू! यो राजनीतिमा कस्तो हुँदोरहेछ भने मैले अनुभूति गरेको तपाईँ हामी सबैले अनुभूति गरेको कति बेला के लाग्दोरहेछ भने जे भइरहेको छ नि ठिकै छ यस्तै त हो नि भइरहेकै छ। ठिकै भइरहेको छ। यसरी नै हुने हो। कसैलाई के लाग्दो रहेछ भने यो बेठिक भइरहेको छ र सम्पूर्ण रूपले ध्वस्त गर्नुपर्छ। अनि नयाँ सिर्जना गर्नुपर्छ। फेरि कसैलाई के लाग्दो रहेछ भने सम्पूर्ण रूपमा ध्वस्त पनि नगरौँ। तर क्रमश: क्रमश: रूपान्तरणको कुरा पनि जाऊँ। म सम्झिन्छु कि म नेपाली कांग्रेस पार्टीको महामन्त्री पदमा प्रतिस्पर्धा गर्नलाई एक्लै-एक्लै जस्तो गरेर विद्रोह गर्दाखेरि मैले भनेको थिएँ- हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन, हिजो राजनीतिक परिवर्तन भइसक्यो, अब राजनीतिमा परिवर्तन हुनुपर्छ।
मैले गरेका प्रयासहरू पनि कतिपयले जानकारी राख्नुहुन्छ। मैले पछिल्लो समय भनेको विषय एकताका चर्चामा पनि रह्यो तर मैले त्यसलाई पार्टीको सम्पत्ति बनाउन सकिनँ। पार्टीको निर्णय बनाउन सकिनँ। मैले भनेँ कि नागरिक पंक्तिमा असन्तुष्टी छ। चुनाव हुन्छ। नयाँ सरकार बन्छ। प्रधानमन्त्री हुने। चुनाव हुने नयाँ सरकार भन्ने प्रधानमन्त्री हुने। दुईतीन जना नेताको बिचमा घुमिरहे। उहाँहरूले कहिले छोड्नुहुन्छ भनेर पर्खिनुपर्ने भो।
छोडिदिनुस् न भनेर चाहिँ अनुरोध गर्नुपर्ने यसलाई सिस्टममा ल्याऊँ। यसलाई विधिमा ल्याऊँ। ताकि भोलि विश्वप्रकाश शर्माहरूको गगन थापाहरूको पुस्ताले आएर नेतृत्व गर्दै गर्दाखेरि फेरि कसैले आएर छोडदिनुस् न छोडदिनुस् न भन्नु नपरोस्।
त्यसैले मैले वान टु थ्री फोर भनेँ। वान एकपटक मात्रै राष्ट्रपति टु दुईपटक मात्रै प्रधानमन्त्री थ्री- तीनपटक मात्रै मन्त्री फो- चारपटक मात्रै सांसद। कोही पनि त्यसपछि सिंह दरबारमा घाम तापेर पदका लागि नबस। पार्टीको महासमितिमा पेस गरेँ मैले। तर त्यसलाई पार्टीको सम्पत्ति बनाउन सकिएन। सुधारका लागि हुने प्रयासको लागि त्यो एउटा सार्थक कदम हुन्थ्यो कि भन्ने मलाई लाग्छ।
पार्टीको विधि त्यसलाई बनाउन नसक्दै गर्दाखेरि पनि सँगैमा मैले अर्को पनि आग्रह गरेँ। मलाई हिजो मात्र एकजना साथीले गुगलमा सर्च गर्नु भाछ र मलाई पठाउनु भा थियो स्क्रिनसट कि देउवा ओली र दाहाल तीनै जना नेताले सक्रिय राजनीति छोड्नुपर्छ र अभिभावक बन्नुपर्छ विश्वप्रकाश शर्मा भनेर।
गएको असारको १ गते मात्रै म मेरै झापाको मेरो आफ्नै गाउँको धुलाबारीको खानेपानीको २० करोडको एउटा परियोजना नयाँ सुरु गर्न शिलन्यास गर्दै गर्दाखेरि मैले बोलेको रहेछु। गाउँको त्यो कार्यक्रममा जाँदै गर्दा पनि गुगलमा सर्च तपाईंले पनि गर्दा त्यही भेट्नुहुन्छ- देउवा, ओली र दाहाल सन्न्यास लिनुस्, सक्रिय राजनीति छोड्नुस्, अभिभावक बन्नुस्। विश्वप्रकाश शर्मा भनेर सर्च गर्नुस त अहिले जहाँ हुनुहुन्छ तपाईंले त्यो पाउनुहुन्छ।
तर यसो भन्दै गर्दाखेरि फेरि पार्टीका साथीहरूलाई चाहिँ के पर्न सक्छ भने- होइन आफ्नै सभापतिसमेतको लागि सार्वजनिक रूपमा चाहिँ यसरी चाहिँ छोड्नुपर्छ भनेर बोल्न उचित हो र त्यसका लागि फेरि के सम्झिनुपर्छ भने मैले त्यसरी बाहिर बोल्नुपूर्व मैले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमै बोलेँ। मैले बैठकमा भनेँ- आदरणीय सभापतिज्यू! तपाईंले यो गर्नुभयो, त्यो गर्नुभयो, यो गर्नुभयो, त्यो गर्नुभयो, यो गर्नुभो, त्यो गर्नुभयो, एउटा कुरा गर्न बाँकी छ। उहाँले सोध्नुभयो- के बाँकी छ के, के गर्नु पर्यो?
मैले भनेँ- तपाईंले त्याग गर्न बाँकी छ। भनिसक्नुभयो- पाँचपटक प्रधानमन्त्री। अब बन्नुहुन्न। तर त्यो निर्णयमा मैले सभापतिलाई सहमत गराउन त सकिनँ, आफ्नो ठाउँमा छ।
आदरणीय साथीहरू! मैले केन्द्रीय कार्य समितिको कोही अर्को दोस्रो साथीलाई पनि सहमत गराउन सकिनँ। मैले बैठकमै बडो नम्रतापूर्वक भनेँ कि आदरणीय सभापतिज्यू! तपाईंको सबैभन्दा ठूलो शुभचिन्तक त मै मात्र रहेछु। विश्वप्रकाश मात्रै रहेछ। जसले तपाईंलाई प्रस्टसँग भन्छ कि पाँचपटक प्रधानमन्त्री बनिसक्नुभयो, छैटौँपटक बन्नु हुन्न तपाईंले। अमुक फलाना फलाना फलाना नेताहरूमध्येबाट तपाईंले प्रस्ताव गर्नुस्। तपाईंले मैले छोड्ने बेला आउँदै छ भनेर चितवनमा बोल्दै गर्दा त्यत्रो प्रशंसा भो। तपाईंले मैले छोडेँ भनेर घोषणा गर्दै गर्दा तपाईंको व्यक्तित्व अर्कै ठाउँमा पुग्छ। देशले अभिभावक पाउँछ। कांग्रेसको सभापति शेरबहादुर देउवाले त्यसरी गरिदिँदै गर्दाखेरि स्वाभाविक छ कि माओवादीको अध्यक्ष र एमालेको अध्यक्षलाई पनि दबाब पर्छ। तीन सन्न्यास, तीन अभिभावक बन्ने अवस्था बन्छ। मैले यो आग्रह पनि गरेँ। अब म त्यसमा फर्किन चाहन्नँ। मैले त्यो बेला बोलेँ तर त्यसलाई पार्टीको सम्पत्ति बनाउन सकिनँ।
मलाई दु:ख लाग्छ कि अहिले साथीहरू भन्नुहुन्छ- के ओहो! विश्वप्रकाशले त्यस बेला भनेको थियो। त्यो त्यही हिसाबले पो जानुपर्ने रहेछ। हामीले ढिलो बुझ्यौँ। हामीले ढिलो गर्यौँ। ढिलो गर्दै गर्दाखेरि जुन आक्रोश असन्तुष्टि भयो, त्यसको जगमा, त्यसको आवरणमा हामीले गरेका राम्रा कामहरू पनि देशलाई बुझाउन सकेनौँ।
हिजो पार्टीको केन्द्रीय कार्यालय पुग्दै गर्दाखेरि जलिरहेका भग्नावशेषहरू हेर्दै गर्दाखेरि मैले मनमनै सोचिरहेँ- यो बीपी कोइरालाको कार्यालय हो बीपी कोइरालाको नाममा बनेको कार्यालय हो। देशलाई स्वतन्त्रता दिलायो कांग्रेसले, के गल्ती गर्यो? राणाबाट समावेशताको जग बसायो, बीपीको मन्त्रिमण्डल हुँदै कांग्रेसले के गल्ती गर्यो? ३० वर्षसम्म जेल र प्रवास गएर राखिँदै गर्दा, गोली खाएर कैयौँ साथीहरू मर्दै गर्दा प्रजातन्त्रको दीपलाई जोगाएर राख्यो कांग्रेसले के गल्ती गर्यो?
पहिलो विश्वविद्यालय- त्रिभुवन विश्वविद्यालय खोलिराखेर जंगलको राष्ट्रियकरण गरिराखेर, मेची-महाकाली बाटोको लागि सर्भे गरिराखेर नेपालमा पहिलो एयरलाइन्स आफैँ स्थापित गरिराखेर कांग्रेसले के गल्ती गर्यो?
४६ को परिवर्तनपछाडि समुन्नतिको दोस्रो जग बन्यो। त्यसले केही बाटो कोर्ने प्रयास गर्यो। कांग्रेसले के गल्ती गर्यो? सम्झिनुस् त- सशस्त्र विद्रोह। हिजोअस्ति भर्खर कैयौँका कैयौँ सयका सय सदरमुकाममा भिडन्तमा मारिएको त्यो दृश्यको बीचबाट देशले आर्तनाद गरिरहेको बेला सास फेर्न पाऊँ भनेर एउटा व्यापारी व्यवसायी शिक्षक कर्मचारी हरेक नागरिकले भनिरहेको बेला शान्तिको झण्डा उठाइराखेर देशलाई शान्तिमा लिएर जानलाई माओवादीलाई समेत समन्वय गर्यो त कांग्रेसले के गल्ती गर्यो?
तर कांग्रेसको त्यो कारणले जल्दै गर्दाखेरि पनि मैले त्यति धेरै दु:ख मानिनँ जति दु:ख मेरो देशको सिंहदरबार जल्दै गर्दाखेरि मानेँ। संसद् भवन जल्दै गर्दा मानेँ। मेरो व्यक्तिगत घर जलेको कुरा काठमाडौँमा डेरा झापामा घरमा आगजानी भएको कुरा मेरो लागि त्यति ठूलो- हामी प्रत्येकले व्यक्तिगत कुरालाई लाई ठूलो मान्नु पनि भएन। मैले अलग्गै भिडिओमार्फत मेरो गाउँलेको नाममा मैले के बिराएको थिएँ भनेर मैले बोलेर पठाउनुपर्ने त छँदै छ। तर पनि समग्रतामा हामी पुराना राजनीतिक दलहरूका बारेमा उब्जिएका प्रश्न, उब्जिएका गुनासो यी सबै कुराको मन्त्री बनौँ। सरकारमा हौँ।
Shares

प्रतिक्रिया