पोखरा महानगरपालिकाकाको कार्यालय जलेर ध्वस्त छ। वडा कार्यालयहरू पनि जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडले सेवा प्रवाह गर्ने अवस्थामा छैनन्।
तर,पोखरा महानगरपालिका नागरिकलाई सेवा प्रवाहका लागि विकल्प खोज्ने प्रयत्नमा छ।
मेयर धनराज आचार्यले आज पोखरा महानगरपालिकाको कार्यपालिका बैठक बसेर नगरवासीका अत्यावश्यक सेवालाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे महत्त्वपूर्ण निर्णय गर्ने जानकारी दिएका छन्।
उनका अनुसार जेनजी आन्दोलनका क्रममा भएको सम्पूर्ण क्षतिको विवरण प्रशासनतर्फबाट संकलन भइरहेको छ।
उनले भनेन्, ‘जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारका सम्पूर्ण नागरिकका महत्त्वपूर्ण कार्यालयहरूमा गरिएको आगजनी र विनाश आन्दोलनकारी युवाभन्दा बाहिरी तत्त्वहरूको षड्यन्त्रपूर्ण गतिविधि हो भन्ने स्पष्ट तथ्य हामीसँग छ।’
भ्रष्टाचारविरुद्धको जेन-जी आन्दोलनप्रति ऐक्यबद्धता रहे पनि घुसपैठ गरेर विनाश फैलाउने असामाजिक समूहले आन्दोलनको पवित्र उद्देश्यलाई बिगारेको दाबी उनले गरेका छन्।
जेनजी आन्दोलनका बेला उनी भने दुबईमा थिए।
प्रदर्शनकारीले उनको नयाँबजारमा रहेको निजी घर पनि तोडफोड र आगजनी गरिदिएका छन्।
मेयर आचार्यले २० वर्षअघि बनाएको घर आन्दोलनको मौका पारेर केही व्यक्तिले ध्वस्त पारिदिएको बताएका छन्।
'केही स्वार्थी समूहले आफ्ना गलत काम नगरिदिएको कारण तथा निहित स्वार्थका आधारमा म र मेरो परिवारलाई निरन्तर बदनाम गर्ने, अफवाह फैलाउने र मानसिक यातना दिने कार्य भइरहेको तथ्यप्रति म पूर्ण रूपमा सजग छु। यस विषयमा कडाइका साथ स्पष्ट अभिव्यक्ति गर्न चाहन्छु कि म महानगर प्रमुख बनेपछि मैले कुनै आर्थिक लाभ लिएको छैन। मेरो नाममा आउने मासिक सुविधासमेत विद्यार्थी शिक्षादान र सामाजिक क्षेत्रमा खर्च गर्दै आएको तथ्य जगजाहेर छ। म विगत ३३ वर्षदेखि विभिन्न पेशा र व्यवसायमा संलग्न रहँदै आएको व्यक्ति हुँ, मेरो जीवन पोखरेलीहरूसामु सधैं खुला किताबझैँ छ’, उनले भने।
'जसले यस विनाशकारी घटनाको योजना बनाए, साथ दिए वा आगजनी, तोडफोड मात्र नभई लुटपाटसम्ममा संलग्न भए, तिनीहरूलाई यस्ता गलत बाटो र अनुचित कार्यमार्फतमात्र बाँचिरहन परिरहोस भन्ने प्रार्थना गर्न सक्छु। किनकि सत्यलाई कहिल्यै दबाउन वा रोक्न सकिँदैन, सत्य सधैँ सत्यकै रूपमा रहन्छ। हामी सबैलाई थाहा छ- पृथ्वी गोलो छ!’
उनले नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई पनि दिएका छन्।
आचार्य कांग्रेससहितको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयर बनेका हुन्।
Shares

प्रतिक्रिया