नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकको परिवर्तित अवस्थाप्रति गहिरो चिन्ता प्रकट गर्दै देशभक्त र लोकतन्त्रप्रति प्रतिबद्ध सबै राजनीतिकर्मीलाई एक हुन आह्वान गरेका छन्।
शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन र संसद् विघटन भएपछि भुसालले अपिल जारी गर्दै खासगरी कम्युनिस्ट पार्टीका नेताहरूलाई दलगत बन्धन तोडेर एकताबद्ध हुन आग्रह गरेका हुन्।
‘अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण संकटका सामु उभिएका छौँ। यस अवस्थामा म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकांक्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुला छलफलमा उत्रिन आह्वान गर्दछु’, भुसालले आफ्नो अपिलमा भनेका छन्, ‘म कम्युनिस्ट आन्दोलनमा हुर्केको एउटा सक्रिय व्यक्तिका हिसाबले सबै कम्युनिस्ट पार्टीका सदस्यहरू, खासगरी नेकपा एमाले र नेकपा माओवादीको स्कुलिङ्बाट हुर्केका देशभित्र र बाहिर रहेका प्रिय कमरेडहरू, हाम्रो आन्दोलनमा बौद्धिक तथा सांस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरू र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरूलाई आह्वान गर्न चाहान्छु : हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौँ भनेर संकल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा संकल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ।’
यस्तो छ, घनश्याम भुसालको पूरा वक्तव्य:
मेरो अपिल
गत भदौ २३ गते सरकारले चलाएको गोलीले जसरी अबोध नेपाली छोराछोरीहरू भुटिए , त्यो हाम्रो इतिहासको एउटा सर्वाधिक कायरतापूर्ण बर्बरता थियो । २४ गते भदौका दिन हाम्रो मुलुकमाथि तोडफोड, आगजनी, लुटपाटको जुन सैतानी ताण्डव नाच्यो त्यो नेपाल-अंग्रेज युद्धमा बेलायती फौजले हाम्रा तराईका बस्तीहरूमा गरेको बर्बरतापूर्ण आक्रमणभन्दा भयानक थियो । यसबाट प्रत्यक्ष देखिएको राष्ट्रिय क्षतिको घाउ जति असह्य छ, त्यसभन्दा बढी यी घटनाले अदृश्य ऐँठनका रूपमा दशकौँसम्म हाम्रा सन्तान दरसन्तानलाई झस्काइ रहने छ।
यी घटनाहरू सरकारको दुर्बुद्धिका कारणले मात्रै भएका होइनन्, बरु सत्तासीन खलनायकका बेबकुफीमाथि सुनियोजित षडयन्त्रकारीहरूले कलमी गरेर फलाएको हलाहल विष थिए भन्ने कुरा स्पष्ट हुँदै छ। यस क्रममा हाम्रा अग्रजहरू र हामी आफैँले सदियौँ/दशकौँदेखि निर्माण गरेका देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायका मूल्यहरूमाथि जुन खेलबाड हुँदै छ, त्यसले वाम–लोकतान्त्रिक आन्दोलनमा हुर्केका लाखौँ इमान्दार सदस्य तथा समर्थक-शुभचिन्तकहरूमा कहिल्यै नबेहोरिएको पीडा, ग्लानी र छलपटी उत्पन्न गरेको छ।
लोकतान्त्रिक गणतन्त्रले जुन जिम्मेवारी र नैतिक मूल्यको नेतृत्व खोजेको थियो, त्यसको अभावमा आज हामीले यो दिन देख्नु पर्यो। हाम्रा पार्टीहरूलाई बिर्ता बनाएर नेताहरूको रजाइँ चल्न दिएको नालायकीको मूल्य आज हामीले तिर्दै छौँ । राम्रो पार्टी बन्यो भने आफ्नो सुविधा र पद खोसिने डर भएका मानिसहरू पार्टी नेतृत्वमा भर्ती गर्दै जाँदा पार्टी नेतृत्वको बहुमत नै यथास्थितिको पक्षमा उभिने अवस्था बन्यो। प्रश्न उठाउने तल्लो पंक्तिका असंख्य कार्यकर्ताहरूको आवाज सबैजसो पार्टीका तथाकथित केन्द्रीय कमिटीहरूमा अल्पमतमा परिरह्यो । जसको एकमुस्ट परिणामस्वरूप हामी आफ्नै इतिहासको भग्नावशेषका डिलमा उभिएर यो सारा विध्वंशमा नजर डुलाउँदै छौँ।
२३ गते सत्ताले गरेको नरसंहार र २४ गते मुलुकभरिका अपराधीहरूले गरेको ताण्डवले हाम्रा पनि नालायकीको पराकाष्ठालाई छर्लङ्ग पारेका छन्। हाम्रा राजनीतिक संरचना र प्रक्रियाको यो भन्दा हरिबिजोग कहिल्यै हुने छैन।अहिलेको राजनीतिक गतिरोध जसरी अगाडि बढे पनि हामी असाधारण संकटका सामु उभिएका छौँ।
यस अवस्थामा म देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकांक्षा बोकेका सबै राजनीतिकर्मीहरूलाई सबै बारबन्देज भत्काएर खुला छलफलमा उत्रिन आह्वान गर्दछु। म कम्युनिस्ट आन्दोलनमा हुर्केको एउटा सक्रिय व्यक्तिका हिसाबले सबै कम्युनिस्ट पार्टीका सदस्यहरू, खासगरी नेकपा एमाले र नेकपा माओवादीको स्कुलिङ्बाट हुर्केका देशभित्र र बाहिर रहेका प्रिय कमरेडहरू, हाम्रो आन्दोलनमा बौद्धिक तथा सांस्कृतिक योगदान गर्ने सबै बुद्धिजीवीहरू र यस आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरूलाई आह्वान गर्न चाहान्छु : हाम्रो विचार एउटै हो, नेताहरूका स्वार्थका खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ, हामी एक ठाउँमा उभिन्छौँ भनेर संकल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ, इतिहासको यस कालखण्डमा केवल एउटा संकल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ।

Shares

प्रतिक्रिया