सेनाको सुरक्षा घेराभित्र रहेका निवर्तमान मन्त्रीहरूले आफ्नो मोबाइल फिर्ता पाएका छन्। बुधबार भैँसेपाटीस्थित मन्त्री निवासबाट सेनाको हेलिकप्टरमा ब्यारेकभित्र लगिएका मन्त्रीहरूका फोन सेनाले आफ्नो नियन्त्रणमा राखेको थियो।
त्यसपछि उनीहरू सम्पर्कविहीन थिए। 'हामी सेनाको सुरक्षा घेरा भन्ने कि नियन्त्रणमा भन्ने नजिकै थियौँ तर फोन सेनासँग थियो,' शुक्रबार राति एक मन्त्रीले नेपालखबरसँग भने, 'अब त अर्को सरकार आइसक्यो क्यारे हैन? हामी सबैलाई सेनाले फोन फिर्ता दियो।'
उनका अनुसार बुधबार भैँसेपाटी निवासमा रहेका मन्त्रीहरूलाई सेनाले एकै ठाउँमा राखेको थियो।
त्यसै दिन राजीनामा दिएका मन्त्रीहरू पनि सेनाकै सुरक्षामा थिए। यस्तै सेना निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, निवर्तमान उपप्रधानमन्त्रीहरू, शीर्ष नेतालाई छुट्टाछुट्टै ब्यारेकमा राखेको छ। उनीहरू आज राति पनि सेनाकै ब्यारेकमा छन्।
मंगलबार र बुधबार भएको जेन्जी आन्दोलनले सत्ता पल्टाएपछि पुराना दलका नेतालाई सेनाले उद्धार गर्नुपरेको हो।
सुरक्षा अवस्था नियन्त्रण बाहिर गएपछि बुधबार रातिदेखि जिम्मेवारी लिएको सेनाले राष्ट्रपति, जेनजीलगायतसँग लसमन्वय गरेर शुक्रबार साँझ नयाँ सरकार बनेको छ। अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पाएकी छन्।
उनको नेतृत्वमा सरकार बनेसँगै संसद्समेत विघटन भएको छ। कार्कीलाई प्रधानमन्त्री स्वीकार्न दलहरू तयार भए पनि संसद् विघटनमा भने असन्तुष्ट छन्। कार्कीमाथि ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारी छ।
राजधानीसहित देशको सुरक्षा अहिले पनि नेपाली सेनाकै जिम्मामा छ।
Shares

प्रतिक्रिया