राजनीति


सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने षडयन्त्र हुँदैछ : नागरिक आन्दोलन

आगामी छलफल र कार्यक्रम राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र होऊन्
सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने षडयन्त्र हुँदैछ : नागरिक आन्दोलन

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १३:३, काठमाडौँ

वृहत नागरिक आन्दोलनले सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने षडयन्त्र भइरहेको दाबी गरेको छ। 

‘अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका सहिदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ,’ बिहीबार विज्ञप्ति जारी गर्दै नागरिक आन्दोलनले भनेको छ, ‘यो हामीलाई पटक्कै स्वीकार्य छैन। जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो।’

प्रतिक्रान्तिको खतरा पनि रहेको भन्दै आन्दोलनले अहिलेको संविधानमा टेकेर मात्रै अगाडि बढाउनुपर्नेमा जोड दिएको छ। ‘यस संगीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने हाम्रो सबैभन्दा बलियो किल्ला नै २०७२ को नेपालको संविधान हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसमा अडिग रहेर त्यसका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो। अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन।’

त्यस्तै अब हुने छलफल र कार्यक्रम राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्रै हुनुपर्नेमा पनि वृहत नागरिक आन्दोलनको जोड छ। ‘यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गरोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस् र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन्।’

अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै स्थान हुन नहुने मत पनि आन्दोलनको छ। ‘अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्नुछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यस विषयमा जेनजीहरूलाई जस्तोसुकै साथ दिन पमि नागरिक समाज तयार छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad