नेपाली सेनाले अन्तरिम सरकार गठनका लागि छलफल गर्न जेनजीका विभिन्न समूहसँग 'ग्रुप लिडर'को नाम दिन भनेको छ।
जंगी अड्डामा हर्क साम्पाङसँग छलफल चलिरहँदा बाहिर भेला भएका जेनजीहरूलाई सेनाले माइकिङ गर्दै ग्रुप लिडरको नाम दिन भनेको हो।
सेनाले भनेको छ, ‘तपाईंहरू यसरी हो हल्ला नगर्नुस्। छलफलका लागि हरेक समूहबाट ग्रुप लिडरको नाम दिनुस्। भोलि हामी छलफलमा बोलाउँछौँ।’
सैनिक मुख्यालयको पश्चिम गेट अगाडि भेला भएका जेनजीहरू अबको सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवादित छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेपछि केहीले त्यसमा असहमति जनाएका छन्।
केहीले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई नै अन्तरिम सरकारको प्रमुख बनाउनुपर्ने आवाज उठाएका छन्।
तर, उनले नमाने हर्क साम्पाङ वा गोपी हमाललाई बनाउनुपर्ने अडान लिएका छन्। यो समूहले कुनै पनि राजनीतिक दलमा जोडिएका व्यक्तिहरू र सुशीला कार्कीलाई पनि नेतृत्व दिन नहुने भनेका छन्। उनीहरूले जंगी अड्डामा दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेको विषयमा पनि विमति जनाएका छन्।
‘उहाँ आन्दोलन गरेको मान्छे पनि होइन, हिजो पनि विभिन्न दलहरूमा आबद्ध हुनुहुन्थ्यो। आज कसरी जेनजीको लिडर हुनुभयो,’ उनीहरूले भनेका छन्, ‘अस्पतालमा भएका घाइते र मृतकका आफन्तका कुरा सुनेर मात्रै निर्णय लिनुपर्छ। नभए मानिँदैन।’
तर, जेनजीकै अर्को समूहले भने सुशीला कार्की सर्वोच्च अदालतको नेतृत्व गरिसकेको र सरकारको नेतृत्व गर्न यस्तै कानुन बुझेको अनुभवी व्यक्ति चाहिने भएकाले उत्तम हुने तर्क गरेको छ।
बुधबार दिउँसो पनि प्रधानसेनापतिले जेनजीका विभिन्न समूहका लिडर दाबी गर्नेहरूसँग छलफल गरेका थिए। यसअघि मंगलबार राति पनि प्रधानसेनापतिले जेनजीका ९ जना प्रतिनिधिसँग छलफल गरेका थिए।
Shares

प्रतिक्रिया