सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।
पूर्व गृहमन्त्रीसमेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न पनि साे पदमा प्रहरी अतिरिक्त महानिरीक्षकको नियुक्ति गर्नु उपयुक्त हुने बताए।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उानले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ति प्रदेश प्रहरीले गर्न पाउनुपर्ने तर्क पनि गरे।
मुलुक संघीयतामा गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने उनको तर्क छ।
यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति जनाए। उनले प्रदेश प्रमुख बाहेकका अन्य पदहरुमा भने प्रदेश प्रहरीले नियुक्ति गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गरे।
समितिमा पेश गरिएको विधेयकमा भने प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ।
Shares

प्रतिक्रिया