राजनीति


लोकतन्त्रकै हत्या भएको भन्दै विद्यार्थी संघले माग्यो प्रधानमन्त्रीको राजीनामा

लोकतन्त्रकै हत्या भएको भन्दै विद्यार्थी संघले माग्यो प्रधानमन्त्रीको राजीनामा

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ८:५६, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसकै विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सोमबार राज्यले जेनजी आन्दोलनमा गरेको बर्बर हिंसालाई लोकतन्त्रकै हत्याको संज्ञा दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। 

विद्यार्थी संघले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको हो। 

‘आन्दोलनरत निहत्था विद्यार्थीमाथिको बर्बर दमन, लोकतन्त्रको हत्या हो’, विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी हालसम्म बालबालिका र विद्यार्थीसमेत गरेर १९ जनाको ज्यान गएको र पत्रकारसहित कैयौँ घाइते भएको दु:खद् खबरले स्तब्ध भएका छौँ। शान्ति-सुरक्षा कायम गर्ने बहानामा निहत्था युवा विद्यार्थीमाथि बख्तरबन्द हतियारधारी प्रहरीले गोली हानी हत्या गर्नुले सरकार रक्षकबाट भक्षकमा परिणत भएको सन्दर्भमा लोकतन्त्रको समेत हत्या भएको हाम्रो बुझाइ छ। तसर्थ यस घटनाको पूर्ण जिम्मेवारी लिँदै मन्त्रिपरिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन जोडदार माग गर्दछौँ। त्यसैगरी शान्तिपूर्ण तवरले सम्पन्न हुने भनिएको आजको प्रदर्शनमा घुसपैठ गर्ने, आन्दोलनलाई हिंसात्मक बनाउने, जोसुकैलाई कानुनको दायरामा ल्याउनसमेत जोडदार माग गर्दछौँ।’

यसैबीच दु:खद् घटनाको संवेदनशीलतालाई ध्यानमा राखी संयुक्त विद्यार्थी संगठनले आज भदौ २४ गते "विद्यार्थीमैत्री शिक्षा ऐन " जारी गर्न माइतिघर मण्डलामा गर्ने भनिएको शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम हाल स्थगन गरिएको जानकारी पनि नेपाल विद्यार्थी संघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad