सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आज काठमाडौँलगायत देशभरि भएको जेनजी प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ।
आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्।
‘आज मुलुकमा जेनजी, नेपालको आयोजनाका नाममा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि दजनौँ व्यक्तिको मृत्यु भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ। यो एउटा हृदयविदारक र दुःखद् घटना हो।’
एमालेले आन्दोलनकारी र सरकारलाई संयमसाथ वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरेको छ। यस्तै, घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ। एमालेले मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनका परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
Shares

प्रतिक्रिया