राजनीति


‘जबज’कै जगमा नेपाली विशेषताको समाजवादः प्रधानमन्त्री ओली

‘जबज’कै जगमा नेपाली विशेषताको समाजवादः प्रधानमन्त्री ओली

नेपालखबर
भदौ २२, २०८२ आइतबार १९:४०, काठमाडौँ

नेकपा (एमाले)ले मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद ‘जबज’को जगमा नेपाली विशेषताको समाजवाद अघि सारेको छ।

दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरुले उठाएको जिज्ञासाको जवाफ दिंदै नेपाली विशेषताको समाजवादका विषयमा प्रष्ट्याएका हुन्। उनले नेपाली विशेषताको समाजवाद जबजको विकल्प नभई जबजको जगमा नै अघि बढ्ने बताएका छन्।

अध्यक्ष ओलीले जबजको जगमा नेपाली विशेषताको समाजवादमा पुग्ने बाटो ‘समृद्ध नेपाल, सुखी नेपाली गन्तव्य’ हुने बताए।

नेपाली समाजको वर्ग विश्लेषण गर्दै अध्यक्षले भने, ‘नेपाली विशेषताको समाजवाद जबजको जगमा अगाडि बढ्न् भनिएको हो। त्यसका लागि समृद्ध नेपाल, सुखी नेपालीलाई गन्तव्यका रुपमा अघि सारिएको हो। यसको अर्थ मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जबजलाई छोडेको होइन, सृजनात्मक प्रयोग गरिएको हो।’

समृद्धिको ‘प्यारामिटर’ सुशासन, सुरक्षा, मानव जातिलाई सम्मान परिपाटीको विधि, जैविक र मानवीय सहजता हुने अध्यक्ष ओलीले बताए।

पार्टीले गहिर्‍याइमा पुगेर समाजको विश्लेषण, व्याख्या गरेको औंल्याउँदै विचारमा समयअवधि अनुसार अध्यावधिक गरेको बताए।

‘कार्यनीति, भविष्यका स्पष्ट भिजन राखेर मात्रै अघि बढ्छौँ। हामी देश, काल, परिस्थिति अनुसार सिद्धान्तका आधारमा जान्छौँ। नेतृत्व विज्ञान हो। कार्ल माक्र्सवादी सिद्धान्तलाई रुसमा लेनिन, चीनमा माओ, भियतनाममा होचिमिन्ह, कोरियामा किमइलसुङले आफ्नै मौलिक सृजनात्मक रुपमा व्याख्या र प्रयोग गरे। हामीले पनि परिपक्व र मौलिक ढंगले समाजवादी यात्रामा अघि बढ्ने कार्यक्रम अघि सारेका छौँ’, अध्यक्ष ओलीले भने।

संविधान निर्माण हुन २३ वर्षअघि एमालेले जबजको सिद्धान्त प्रतिवादन गरेको अध्यक्ष ओलीले बताए।

‘२३ वर्षअघि जबजको सिद्धान्त प्रतिपादन गरेर वर्तमान संविधानलाई निर्देशन गरिको हो। संविधानमा समाजवाद उन्मुख छ भन्ने होइन, हामीले लेखेका हौँ’, अध्यक्ष ओलीले भने, ‘संविधान संशोधन आवश्यक भएकाले संशोधन गर्छौँ भनिसकेका छौँ। अब छिट्टै एउटा विज्ञ समूह बनाएर संशोधनको खाका तय गर्छौँ। यो समय विकास क्रमको अध्यावधिक हो। पहिले जस्तो हुँदैन अबको संविधान जनताको हितमा केन्द्रित हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad