राजनीति


६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य मन्त्रालयबीच सम्झौता

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य मन्त्रालयबीच सम्झौता

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार २१:४०, काठमाडौँ

स्वास्थ्य सेवालाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूसँग आज कार्यसम्पादन सम्झौतामा गरेको छ।

मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरा, पाटन, कर्णाली, राप्ती, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पताल सेवालाई सहज, सर्वसुलभ र पारदर्शी बनाउने सम्झौताको मुख्य लक्ष्य रहेको बताए। अस्पतालहरूमा देखिने आम समस्याहरूलाई इंगित गर्दै अब सुधारको अनुभूति कागजमा नभई सेवाग्राहीको व्यवहारमा देखिनुपर्ने मन्त्री पौडेलले स्पष्ट पारे।

‘यो सम्झौता केवल केही बुँदाहरूको सूची मात्र होइन, स्वास्थ्य क्षेत्रमा विस्तार र सुशासनको आधारशिला हो। यसको पूर्ण कार्यान्वयनले स्वास्थ्य प्रणालीको संस्थागत विकास, जवाफदेहिता र पारदर्शी कार्ययोजना तथा तथ्यांकमा आधारित व्यवस्थित स्वास्थ्य प्रणालीको स्थापित हुनेछ।’ उनले भने

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. विकास देवकोटाले उक्त सम्झौतालाई कार्यान्वयन गर्न मन्त्रालयले प्रतिष्ठानहरूलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सम्झौतालाई मन्त्रालय र प्रतिष्ठानहरूको साझा लक्ष्यको दस्तावेजको रूपमा व्याख्या गर्दै यसको सफलताका लागि आवश्यक पर्ने सहयोग गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे।

‘यो सम्झौता प्रतिष्ठानहरूको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गर्ने अवसर हो। मन्त्रालयले सम्झौताको कार्यान्वयनका लागि आवश्यक पर्ने नीतिगत सहजीकरण तथा अन्तर-निकाय समन्वयका लागि पूर्ण सहयोग गर्नेछ।’ उनले भने

यसैगरी मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्माले सम्झौताको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

‘सम्झौतामा उल्लेखित लक्ष्यहरू हासिल गर्न आवश्यक पर्ने जनशक्तिको उचित व्यवस्थापन, परिचालन र वृत्ति विकास तथा प्रशासनिक प्रक्रियालाई सहज र सहयोगी बनाइनेछ’ उनले भने

सम्झौतामा हस्ताक्षर गर्दै सबै प्रतिष्ठानका उपकुलपतिहरूले निर्धारित लक्ष्यहरू समयमै पूरा गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन आफूहरू प्रतिबद्ध रहेको बताए।

उक्त सम्झौतामा अस्पतालको सेवा प्रवाहलाई डिजिटलाइज गर्ने, बिरामीमैत्री पूर्वाधार निर्माण गर्ने, औषधि आपूर्तिलाई सहज बनाउनेदेखि लिएर हरेक प्रतिष्ठानका लागि विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार गर्नेसम्मका दर्जनौं बुँदाहरू समावेश गरिएका छन्।

मन्त्रालयले अब यस सम्झौताको कार्यान्वयनको निरन्तर अनुगमन गरी मूल्याङ्कन गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad