राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वचर्चित सामाजिक सञ्जाल कम्पनीहरु मेटा र गुगललाई इमेल पठाएको छ।
खासगरी नेपालमा दर्ताको अवस्थाबारे जानकारी माग्दै रास्वपाका सहसचिव विपिन कुमार आचार्यले दुवैलाई इमेल पठाएका हुन्।
मेटा पब्लिक पोलिसी टिमलाई सम्बोधन गरी पठाइएको इमेलमा पार्टीको तर्फबाट पठाएको उल्लेख छ।
नेपालमा दर्ता नभएका सामाजिक मिडिया नेटवर्कहरुलाई नेपालमा भर्खरै बन्द गरिएको उल्लेख गर्दै यो निर्देशनले अत्यन्तै लोकप्रिय मेटा प्लेटफर्मका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप प्रत्यक्ष प्रभावित भएको इमेलमा उल्लेख छ। यी प्लेटफर्महरु नेपाली नागरिकका जीवनसँग एकीकृत भएका र मनोरञ्जन र सञ्चारभन्दा पर रहेर शिक्षा, साना व्यावसायिक वृद्धि, डिजिटल उद्यमशीलता, नागरिक संलग्नता र प्रवासी सन्निकटताका अत्यावश्यक साधन बनेको जानकारी गराइएको छ।
यस्तो परिदृश्यमाझ रास्वपाले मेटासँग नेपालमा दर्तालाई लिएर तीनवटा प्रश्नको जवाफ मागेको हो।
सरकारी निर्देशनसँगै मेटाले आफ्ना सामाजिक सञ्जाल नेपालमा दर्ताका लागि के गरिरहेको छ, दर्ता ढिलाइमा विशेष कारण के छन् र नेपाली प्रयोगकर्तालाई अविच्छिन्न रुपमा सामाजिक सञ्जालमा पहुँच दिन चाँडै दर्ताको लागि समय र मार्गचित्र उपलब्ध गराइदिन भनिएको छ।
रास्वपाले समयमै मेटाले नेपाली नियम, कानुन मान्ने आशा गर्दै यदि कुनै कानुनी, प्रक्रियागत, प्राविधि वा सञ्चालन अवरोधहरु भए सम्बन्धित नेपाल सरकारी संस्थासँग सहकार्य गर्न र आवश्यक परे आफूहरुले पनि यसमा सहजीकरण गरिने उल्लेख गरिएको छ।
त्यसैगरी गुगललाई पनि सोही व्यहोराको इमेल पठाउँदै युट्युबमा नेपालीको निर्बाध पहुँचबारे जवाफ मागिएको छ।
Shares

प्रतिक्रिया