राजनीति


एमाले विधान महाधिवेशन आज: यस्तो छ गोदावरीमा चहलपहल

एमाले विधान महाधिवेशन आज: यस्तो छ गोदावरीमा चहलपहल

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार ११:३५, काठमाडौँ

नेकपा एमालेकाे दोस्रो विधान महाधिवेशन स्थल गाेदावरीकाे सनराइज सभाहलमा उद्घाटनको चहलपहल सुरु भइसकेको छ।

गोदावरीको मूल सडकदेखि सभाहल छिर्ने प्रवेशद्वारबाट प्रवेश गर्ने प्रतिनिधि, पर्यवेक्षक, सर्वसाधारणलाई स्वयंसेवकहरूले व्यवस्थित गरिरहेका छन्। प्रतिनिधि, पर्यवेक्षक, सञ्चाकर्मी र सर्वसाधरणको सवारी साधरणका लागि मूल सडक छेऊमै पार्किङको व्यवस्था मिलाइएको छ। 

स्वयंसेवक, प्राविधिकहरूको कार्ड स्क्यान कार्य सुरु भइसकेको छ। प्रतिनिधि, पर्यवेक्षकका लागि गेटभित्र छिर्ने प्रक्रिया खुला भइसकेको छैन। सञ्चारकर्मीहरूका लागि पर्खालसँगै जोडिएको मिडिया सेन्टर राखिएको छ। 

हलभित्र स्थायी, पोलिटव्युरो, केन्द्रीय सदस्य, आयोगका प्रमुख र प्रतिनिधिहरुका लागि प्रदेश अनुसारको सिट व्यवस्थापन गरिएको छ । अहिले हलभित्र सरसफाई, सिट व्यवस्थापन, डिजिटल, सुरक्षा प्रबन्ध, प्राविधिक पक्षको धमाधम परिक्षण भइरहेका छन्। हलभित्र उप महासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापनका संयोजक पोलिटव्युरो सदस्य विनोद श्रेष्ठले नेतृत्व गरिरहनु भएको छ।

ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्सी व्यवस्थित गरिएको छ। दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ। मञ्चको दायाँ, बाँया टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएको छ। त्यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्विर राखिएको छ।

दायँतिर कार्ल मार्क्स, एङ्गेल्स र लेनिनको तस्विर राखिएको छ। मञ्चको शिरमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो महाधिवेशन लेखिएको छ। त्यसमाथि सर्वोच्च शिखर सगरमाथाको प्रतीक राखिएको छ। सगरमाथा माथि पार्टीको लोगो सूर्यभित्र हँसिया हथौडा र नेपालको झण्डा राखिएको छ।

प्रत्यक्ष प्रशारणसहित बाहिर मिडिया सेन्टरमा डिजिटल बोर्ड राखिको छ। हलको दाँया–बाँया झ्यालमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’को नारासहित दुईवटा ठूला डिजिटल वोर्ड राखिएको छ। 

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन स्थल गोदावरी सनराइज सभाहलतिर अहिले सातदोबाटोबाट प्रतिनिधि, पर्यवेक्षक, पार्टी शुभचिन्तकहरु आउनेक्रम जारी छ।

दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहने छन्। स्वयं सेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad