राजनीति


एमालेको विधान महाअधिवेशन आजदेखि, १२ मिनेटमै सकिनेछ उद्घाटन समारोह

२ हजार ३ सय ४१ जना प्रतिनिधि सहभागी हुने
एमालेको विधान महाअधिवेशन आजदेखि, १२ मिनेटमै सकिनेछ उद्घाटन समारोह

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार ७:१९, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले) को दोस्रो  विधान महाअधिवेशन आजदेखि सुरु हुँदैछ। शुक्रबार बिहान ११ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाअधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीअनुसार महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी रहने छन्।

परम्परागत रूपमा उद्घाटन, स्वागत, शुभकामना मन्तव्य जस्ता कार्यक्रम नहुने एमालेले जनाएकाे छ। उद्घाटन समारोह जम्मा १२ मिनेटको हुनेछ। यसअघि २०७८ सालमा एमालेले विधान महाधिवेशन गरेको थियो ।

उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ। उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बाहिर मिडिया सेन्टरमा कलाकारहरूले आर्ट बनाउने छन्। जसको लाइभभित्र हलमा पनि गर्ने तयारी छ।  

विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएकाे छ।  एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीअनुसार सभा हलको सीट संख्या २८ सय ४० रहेको छ।

महाधिवेशन हलभित्र छिर्ने ४ वटा प्रवेश द्वार बनाइएका छन्। पहिलो द्वारबाट ओलीको मात्रै प्रवेश हुनेछ। अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्नेछन्। 

परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन्। त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन्। अन्तिम प्रवेशद्वारबाट क्याटरिङ्गका लागि खाद्यन्न, खाने पानी ढुवानीका लागि खुला गरिएको छ। दोस्रो र तेस्रो प्रवेश द्वारबाट महाधिवेशन हल छिर्नासाथ ओलीको पूर्ण कदको तस्बिर र विधान महाधिवेशनको लोगो राखिएको छ। हलभित्र २२ सय स्क्वार फिट डिजिटल बोर्ड राखिएको छ। 

सभा हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ। प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूल गेटमा मात्रै होइन हलभित्र पस्दा पुनः स्क्यान गरिन्छ। 

मञ्चमा १८ जना पदाधिकारीहरू मात्रै बस्ने व्यवस्था गरिनेछ। मञ्चमा दुई खण्ड बनाइएको छ। अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नेछन् भने अन्य पदाधिकारी पछिल्लो खण्डमा मर्यादाअनुसार बस्ने व्यवस्था मिलाइएको छ।

महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसलगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad