राजनीति


एमाले विधान महाधिवेशनमा ओलीलाई छुट्टै ढोका, प्रतिनिधिका झोलामा प्रतिवेदनदेखि मन्जनसम्म

एमाले विधान महाधिवेशनमा ओलीलाई छुट्टै ढोका, प्रतिनिधिका झोलामा प्रतिवेदनदेखि मन्जनसम्म

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १८:४४, काठमाडौँ

शुक्रबारदेखि नेकपा एमालेको विधान अधिवेशन सुरु हुँदैछ। अधिवेशनको पूर्वसन्ध्यामा कार्यक्रमस्थल ललितपुरको गोदावरीस्थित सनराइज सभा हल एमालेसँग सम्बन्धित तस्बिर र पोस्टरहरूले सजाइएको छ। देशभरबाट प्रतिनिधिहरू आउनेक्रम जारी छ। उनीहरूलाई स्वागतका लागि सातदोबाटोदेखि गोदावरीबीचको १० किलोमिटर बाटो सजाइएको छ। ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ।  

दोस्रो विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय भएको नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले नेपालखबरलाई जानकारी दिए।  

पहिलो गेटबाट ओलीबाहेकलाई छैन प्रवेश अनुमति
सभा हलको सीट संख्या २८ सय ४० रहेको छ। हलभित्र छिर्ने ४ वटा प्रवेश द्वार छन्। पहिलो द्वारबाट भीभीआईपी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नुहुने छ। अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्ने छन्। 

परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन्। त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन्। अन्तिम प्रवेशद्वारबाट क्याटरिङ्गका लागि खाद्यन्न, खाने पानी ढुवानीका लागि खुला गरिएको छ। दोस्रो र तेस्रो प्रवेश द्वारबाट महाधिवेशन हल छिर्नासाथ ओलीको पूर्ण कदको तस्बिर र विधान महाधिवेशनको लोगो राखिएको छ। हलभित्र २२ सय स्क्वार फिट डिजिटल बोर्ड राखिएको छ। 

सभा हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ। प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूल गेटमा मात्रै होइन हलभित्र पस्दा पुनः स्क्यान गरिन्छ। 

मञ्चको अघिल्लो खण्डमा ओली, पछाडि अरु
त्यहीँबाट स्वयं सेवकले कसलाई कुनद्वार र कुन सिटमा बस्ने भनेर व्यवस्था मिलाउने छन्। हलको बाहिर ६ वटा कार्ड स्कान बुथको व्यवस्था गरिएको छ। मञ्चमा १८ जना पदाधिकारीहरू मात्रै बस्ने छन्। मञ्चमा दुई खण्ड बनाइएको छ। अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नेछन् भने अन्य पदाधिकारीहरु पछिल्लो खण्डमा मर्यादाअनुसार बस्ने व्यवस्था मिलाइएको छ।

उद्घाटन समारोहमा १२ मिनेटको धुन बज्नेछ
कार्यक्रमको उद्घाटन अध्यक्ष ओलीले गर्नेछन्। तर, परम्परागत उद्घाटन, स्वागत, शुभकामना मन्तव्य जस्ता कार्यक्रम नहुने बताइएको छ। उद्घाटन समारोह जम्मा १२ मिनेटको हुनेछ।   

उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ। उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बाहिर मिडिया सेन्टरमा कलाकारहरूले आर्ट बनाउने छन्। जसको लाइभभित्र हलमा पनि गरिने छ।  

१२ मिनेटको धुन सक्किएपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसलगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। 

त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ-आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन्। उद्घाटनलगत्तै बन्दसत्र एकै साथ सुरु हुने भएकाले दिउँसो १ चिया-खाजाका लागि १ घन्टा ब्रेक हुने छ। 

२ हजार ३ सय ४१ जना प्रतिनिधि सहभागी हुने
दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २ हजार ३ सय ४१ जनाको सहभागी रहने छन्। स्वयं सेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ। 

आवासको व्यवस्था नगरिएकाले साँझ ५:३० बजेभित्र प्रतिवेदन वाचन गरेर पहिलो दिनको कार्यक्रम सकिनेछ। भदौ २१ गते सबै प्रतिवेदनमाथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने छ। 

सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरूका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण लगायत आवश्यक सबै काम पूरा भएको ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए। 

प्रतिनिधिलाई बाँडिएको झोलामा के छ? 
एमालेले विधान महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई झोला वितरण गरिएको छ। झोलामा राजनीतिक प्रतिवेदनदेखि टुथ पेस्ट र ब्रस राखिएको अधिकारीले जानकारी दिए। 'प्रतिनिधिलाई झोला वितरण गरिएको छ। झोलाभित्र राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन हुनेछ,' उनले भने, 'त्यस्तै विधान संशोधन प्रस्ताव, लेखा आयोगको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन र निर्वाचन आयोगको प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदन हुनेछ। एउटा नोट बुक, मन्जन र ब्रस पनि हुन्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad