सरकारले सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै प्रयोगकर्ताहरू अन्त मोडिन थालेका छन्। सञ्चारमन्त्रालयले आज एक बैठक राखेर सूचीकृत हुन नआउने सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो।
जसअनुसार अहिले प्रयोगकर्ताहरू भाइबर र टिकटकतिर जोडिन थालेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नै सूचना प्रदान गर्ने ग्रुपका रुपमा भाइबर ग्रुप बनाएको छ। यसअघि मन्त्रालयले ह्वाट्सएप ग्रुपमार्फत सूचना दिँदै आएको थियो।
त्यस्तै सभामुख देवराज घिमिरेको सचिवालयले पनि संसद्को गतिविधि सम्प्रेषण गर्न भाइबर ग्रुप बनाएको छ। यसअघि फेसबुक म्यासेन्जर ग्रुपमार्फत संसदीय गतिविधि साझा गर्दै आएको सचिवालयले केही घन्टाअघि भाइबर ग्रुप बनाएको हो।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले पनि फेसबुक तथा ह्वाट्सएप ग्रुपमार्फत सूचना दिँदै आएकोमा अहिले भाइबर ग्रुप बनाएको छ।
अधिकांशले आजदेखि भाइबर ग्रुप सञ्चालनमा ल्याए पनि सर्वोच्च अदालत र काठमाडौँ जिल्ला अदालतले भने यसअघिदेखि नै भाइबर ग्रुपमार्फत सूचना वितरण गर्दै आइरहेका थिए।
त्यस्तै विभिन्न सञ्चारमाध्यमले पनि समाचारहरू साझा गर्नका लागि भाइबर ग्रुप बनाएर फेसबुक र बन्द हुने सूचीमा रहेको एक्समा सेयर गरिरहेका छन्। त्यस्तै सञ्चामाध्यमहरूले टिकटकमा जोडिन आग्रह गर्दै टिकटकको स्क्यानर तथा लिङ्क सार्वजनिक गरिरहेका छन्।
सञ्चारमाध्यममात्रै होइन विभिन्न व्यक्तिहरूले पनि आफूलाई सम्पर्क गर्न भाइबर र टिकटकमार्फत सकिने भन्दै त्यसबारे सूचना सार्वजनिक गरेका छन्।
Shares

प्रतिक्रिया