राजनीति


रास्वपा उम्मेदवार लेखजंग थापाले देखाए सम्बन्ध विच्छेद गरेको प्रमाण

‘दुईपटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य एकसँग सम्बन्ध विच्छेद पनि हो’
रास्वपा उम्मेदवार लेखजंग थापाले देखाए सम्बन्ध विच्छेद गरेको प्रमाण

फाइल तस्बिर : डाक्टर लेखजंग थापा


नेपालखबर
भदौ १७, २०८२ मंगलबार ९:५८, काठमाडौँ

रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डाक्टर लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे स्पष्टीकरण दिएका छन्। 

रास्वपाबाट उम्मेदवार छनोट हुनासाथ आफूले गरेका दुई बिहेका विषयमा व्यापक प्रश्न उठेपछि डाक्टर थापाले एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको अदालती प्रमाण मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। 

उनले सार्वजनिक गरेको कागजातअनुसार २०७९ माघ १५ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले थापा र उनकी एक पत्नीबीच सम्बन्ध विच्छेद गराएको देखिन्छ। तर उनले कुन पत्नीसँग सम्बन्ध विच्छेद गरेको भन्ने कुरा खुलाएका छैनन्।

अदालतको अभिलेख हेर्दा उनकी पत्नीले २०७९ माघ १३ गते निवेदन दिएको र त्यसको २ दिनपछि सम्बन्ध विच्छेदका लागि मिलापत्र भएको देखिन्छ।

‘परिस्थितिका कारण मैले जीवनमा दुईपटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र, त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो’, थापाले स्टाटस लेखेका छन्।

यस क्रममा थापाले निकै भावुक कुरा पनि लेखेका छन्। 

‘रुपन्देही-३ मा ९६ वर्षकी मेरी‌ बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो। सोचेको थिएँ- एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला र म आमालाई त्यही कुराहरू देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु’, उनले लेखेका छन्, ‘खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ‌ र! मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरू लाई उत्तर दिँदै छु।’

यस्तो छ, उनको पूरा उत्तर:

प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजंग थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिनँ होला। तर मैले बुझेको छु- यो आक्रमण म‌माथि होइन ,यो बेथिति र विसंगतिमा रमाउनेहरूबाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरू पनि राख्नुपर्छ।

आदरणीय आमाबुबा दाजुभाइ र दिदीबहिनीहरू, एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुईपटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र, त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो।

मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ।

एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

न्युरोचिकित्सकका  रूपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुषुप्त बालमनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु।

सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहार्दपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन। सम्बन्ध विच्छेद भन्नेबित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा ऊसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन, म बाँचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ। पेसागत सफलताले पूर्ण सन्तुष्ट भए पनि नागरिकका रूपमा म देशमा झाँगिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ। देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुंग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो। विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन, तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किञ्चित् चाहन्नँ।

म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन। यो देशमा कति ठूलो राजनीतिक सुनामी आउँदै छ, रुपन्देहीले सुनाउँदै छ। कसले भन्यो- रुपन्देही-३ को उम्मेदवार म हो भनेर? रुपन्देही-३ को उम्मेदवार त पुनम, जेबी, चना, सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो। अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु। तपाईँहरू उम्मेदवार हुनुहोस्, मेरो शुभकामना छ,यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ।

म त्यही यात्रामा अगाडि बढेको छु। रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको 'उम्मेदवार छनोट विधि'अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ‌। तथापि मेरो पार्टीले गर्ने कुनै पनि निर्णयलाई म सहर्ष स्वागत, स्वीकार र पालना गर्नेछु।

२०७९ को निर्वाचनमा रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ। त्यसमा परिपूर्तिका लागि आगामी कात्तिक १७ गते उपनिर्वाचन हुन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad