नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने दाबी गरेका छन्।
गोदावरी नगर कमिटीद्वारा शनिबार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘देशमा ओलीको विकल्प छैन। संसदमा दोस्रो ठूलो पार्टी भए पनि जनताको मनमा एमाले नै पहिलो पार्टी हो।’
पोखरेलले ७० वर्षे उमेर सीमा बढाइएको ओलीका लागि मात्र नभएको उल्लेख गर्दै, नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोणकै कारण ओली नै राष्ट्रको विकल्प रहेको दोहोर्याए।
उनले भने, ‘संवैधानिक संसदीय व्यवस्थामा राष्ट्रपतिको छुट्टै स्थान छ। पूर्व राष्ट्रपतिलाई सम्मानित र मर्यादित रहनु आवश्यक छ। पार्टीले आफ्नो नेताको सम्मानमा कुनै कसर बाँकी राखेको छैन।’
महासचिव पोखरेलले दुर्गा प्रसाई र रवि लामिछानेजस्ता नेताहरूको ‘छाडा बोल्ने प्रवृत्ति र अराजकताप्रतिको प्रशंसा समाजका लागि हानिकारक’ भएको बताए।
उनले भारतले लगाएको नाकाबन्दीको ओलीकै नेतृत्वमा डटेर सामना गरिएको उल्लेख गर्दै थपे, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा बदल्ने सामथ्र्य ओलीबाहेक कसैमा छैन। ढिलोचाँडो छिमेकीले पनि यस विषयमा सुन्नै पर्छ।’
उनका अनुसार एमाले पटक-पटक फुटेपनि पुनः संगठित हुने क्षमता राख्ने पार्टी हो। ‘दूरदर्शी नेतृत्व ओलीमै छ, एमाले बलियो राजनीतिक शक्ति बनेको छ र अब ‘मिसन ८४’ सफल पार्दै अघि बढ्छ,’ पोखरेलले भने।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा बाग्मति प्रदेश इञ्चार्ज राजन भट्टराईले पनि पार्टीभित्र निराश हुने अवस्था नरहेको बताए। ‘२०७९ को तुलनामा अहिलेको परिवेश अनुकूल हुँदै गएको छ। व्यक्तिगत दम्भ र जुँगाको लडाइँ त्यागेर फराकिलो छाती बनाएर पार्टी एक भए विजय सुनिश्चित हुनेछ,’ भट्टराईले भने।
उनका अनुसार पार्टी एकता, संगठन विस्तार र कार्यकर्ताको सक्रियताबाट ‘मिसन ८४’ सफल पार्दै एमाले अझ शक्तिशाली बन्नेछ।
भट्टराईले भदौ २० देखि २२ सम्म गोदावरीमै हुने दोस्रो विधान महाधिवेशन पहिलो महाधिवेशनको समीक्षासहित ‘मिसन ८४’ सफल बनाउन मार्गनिर्देशक हुने विश्वास व्यक्त गरे।
उनका अनुसार विधान महाधिवेशनले पार्टीलाई अझ सुदृढ बनाएर २०८४ सालको निर्वाचन आफ्नो पक्षमा पार्न सहयोग गर्नेछ।
Shares

प्रतिक्रिया