राजनीति


ब्याची आईजी बनेकै दिन एआईजी शर्माको बिदाइ

ब्याची आईजी बनेकै दिन एआईजी शर्माको बिदाइ

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १९:१९, काठमाडौँ

नेपाल प्रहरीमा शुक्रबार यस्तो संयोग बन्यो- २०५२ सालको प्रहरी निरीक्षक (इन्सपेक्टर) का ब्याची एउटा आईजीपी नियुक्त भए, अर्का बिदाइ भए।

शुक्रबार ११ बजे बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गर्‍यो। 

त्यसको केही समयपछि दिउँसो प्रहरी प्रधान कार्यालयले अर्का एआईजी कृष्णहरि शर्मा पोखरेललाई भने बिदाइ गरेको छ। 

पोखरेल एआईजीको उमेर हदका कारण भोलिबाट अनिवार्य अवकास हुने भएका हुन्। भोलि शनिबार भएकाले शर्मालाई अघिल्लो दिन नै बिदाइ गरिएको हो। 

खापुङ र शर्मा २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। एआईजी पनि गत वैशाखमा सँगै भएका थिए। डीआईजी भने शर्माभन्दा पहिले खापुङ बनेका थिए। 

पोखरेल पनि अवकास हुने भएकै कारण भावी आईजीपीका लागि खापुङ आफ्नो ब्याचबाट एक्ला उम्मेदवार थिए। अरु एआईजीहरू उनीभन्दा जुनियर हुन्। सरकारले वरिष्ठतम एआईजीलाई नै आईजीपी नियुक्त गरेको हो। 

शर्माको बिदाइमा भावी आईजीपी खापुङसहित, आईजीपी दीपक थापा र एआईजी तथा डीआईजीहरू उपस्थित थिए।  बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवानिवृत्त हुन लगेका शर्मालाई मायाको चिनो प्रदान गरे। 

उनले प्रहरीमा गरेको योगदानको पनि थापाले प्रशंसा गरे। आईजीपी थापा पनि आगामी बुधबार अवकास हुनेछन्। आईजीपी थापासँगै उनका ब्याचका एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी अवकास हुनेछन्। 

उनीहरु ३० वर्षे सेवा अवधिका कारण अवकास भएका हुन्। शर्मा भने उमेर हदका कारण ३० वर्षे सेवा अवधि पूरा हुनु अढाइ महिना पहिले नै अवकास भएका हुन्।

खापुङले बिहीबारदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्। आगामी कात्तिक २७ गतेसम्म उनले प्रहरी संगठनको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad