२०७९ को आम निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको एउटै एजेन्डा थियो– रेशम चौधरीलगायत थारु राजबन्दीहरूको रिहाइ। यता रेशम डिल्लीबजार कारागारमा थिए, उता पार्टीकी अध्यक्ष बनेकी उनकी पत्नी रञ्जिता श्रेष्ठ यही एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेकी थिइन्।
यही वाचालाई मतदाताले पत्याए र नागरिक उन्मुक्ति नयाँ शक्तिका रूपमा उदायो। आज सांसदको रूपमा आफ्नो कार्यकाललाई फर्केर हेर्दा रञ्जिता आफू र आफ्नो पार्टीको सबैभन्दा ठूलो सफलता त्यसै वाचालाई पूरा गर्न सक्नु भएको बताउँछिन्।
‘हामीले चुनाव जितिसकेपछि जुन वाचा गरेका थियौँ, त्यो पूरा गर्न सक्यौँ,’ नेपालखबर ‘संसदमा म’मा आफ्नो अनुभूति सुनाउँदै उनी भन्छिन्, ‘राजबन्दी रिहाइको मुद्दा हाम्रो मुख्य एजेन्डा थियो र त्यो पूरा हुनु नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो।’
धेरैलाई जिज्ञासा हुनसक्छ– रञ्जिताको यो राजनीतिक यात्रा कसरी सुरु भयो? रञ्जिताको अनुभव सुनेपछि लाग्छ– यो आफैमा एउटा रोचक कथा हो।
रञ्जिता आफ्नो राजनीति प्रवेशको श्रेय नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका श्रीमान् रेशम चौधरीलाई नै दिन्छिन्। ०७४ सालको चुनावमा रेशम चौधरी फरार अभियुक्तका रूपमा भारतमा लुकिरहँँदा रञ्जिताले आफ्नो ६ वर्षे छोरालाई काखमा च्यापेर उनको प्रचारप्रसारमा होमिएकी थिइन्।
‘त्यतिबेला म राजनीतिमा लागेँ भन्ने त भयो, तर आफैले राजनीति गरेँ भन्ने लागेको थिएन,’ उनी सम्झिन्छिन्।

राजनीतिमा उनको वास्तविक प्रवेश तब भयो, जब रेशम जेलमा हुँदा नै नागरिक उन्मुक्ति पार्टी खोल्ने निर्णय भयो। अध्यक्षको जिम्मेवारी रञ्जिताले पाइन्।
‘त्यसपछि बल्ल म साँच्चै राजनीतिज्ञ भएँ जस्तो अनुभव भयो,’ उनले भनिन्।
पार्टीले स्थानीय तहको चुनावमा कैलालीमा अनपेक्षित सफलता हात पारेपछि उनको आत्मविश्वास चुलियो र संघीय चुनावमा उनी आफै उम्मेदवार बनिन्। थारु मतदाताको बाहुल्य रहेको क्षेत्रमा रेशम चौधरीसहितका थारु राजबन्दीको रिहाइ गराउने चुनावी एजेन्डा यति महत्त्वपूर्ण बनेको थियोे कि रञ्जिताले राम्रो मतसहित चुनाव जितिन्।
‘एकदमै खुसी त लाग्यो, तर सँगसँगै अब कानुन बनाउनुपर्छ, ठूलो जिम्मेवारी आयो भन्ने महसुस पनि भयो,’ चुनाव जितेर पहिलोपटक संसद् भवनमा पस्दाको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘सुरुमा संसद् भवनभित्र चिया पनि खान पाइन्छ होला भन्ने जस्ता रमाइला सोच आएको थियो।’
सांसद भइसकेपछि जनताको स–साना अपेक्षा हुने रञ्जिताको अनुभव छ। कतिसम्म भने एकदिन राति साढे ११ बजे उनको मोबाइलमा लगातार फोन आयो। फोन उठाउँदा उनकै क्षेत्रका एक मतदाता थिए। उनले आत्तिँदै भने, ‘नेताजी, मेरो बाख्रा चोरी भयो, पुलिस पठाएर खोजिदिनुपर्यो।’
‘रातविरात लगातार फोन आएपछि कहीँ समस्या भयो होला भन्ने फोन उठाएकी थिएँ। यसपछि मलाई झन् महसुस भयो, जनप्रतिनिधिले जनताको हरेक सानो–ठूलो दुःखमा साथ दिनुपर्छ। अपेक्षा गर्ने रहेछन्,’ उनले सुनाइन्।

आफ्नो कार्यकालमा उनी केही समय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पनि बनिन्। मन्त्री हुँदा आफ्नो क्षेत्रका लालपुर्जा नपाएका र भूमिहीनहरूको समस्यामा बढी केन्द्रित भएको उनी बताउँछिन्।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्ने तयारी भएकै दिन (९ वैशाख १७) रेशम चौधरी पुनः पक्राउ पर्नुलाई आफ्नो जीवनकै तितो अनुभव भएको उनको भनाइ छ।
‘बाहिर श्रीमान्–श्रीमतीबीच सम्बन्ध बिग्रिएको हल्ला चले पनि त्यो केवल सरकारमा बस्ने वा नबस्ने भन्ने राजनीतिक मतभेद मात्र हो,’ उनी स्पष्ट पार्छिन्।
रञ्जिताको संकल्प छ– अबको बाँकी कार्यकालमा प्रतिपक्षमा बसेर जनता र आफ्नो समुदायको आवाजलाई अझ बुलन्द बनाउने।
‘हामीले वाचा गरेको एउटा काम पूरा गर्यौँ,’ उनी भन्छिन्, ‘अब बाँकी समय आफ्नो क्षेत्रको विकास र सुशासनका लागि संसदमा आवाज उठाइरहन्छौँ। २०८४ को चुनावमा हामी अझै बलियो भएर आउनेछौँ।’
हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाट :
फोटो/भिडिओ : सरोज नेपाल/विशाल कार्की

प्रतिक्रिया