राजनीति


राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता

तस्बिरः किरणराज विष्ट/रासस


नेपालखबर
भदौ ९, २०८२ सोमबार १२:३, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। 

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने सम्भावनाबारे छलफल भएको छ।

राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच आर्थिक सहकार्य विस्तारका लागि ठूलो सम्भावना रहेको बताउँदै यसलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको उल्लेख गरे। 

‘नेपाल अहिले कृषि, पर्यटन, उत्पादन र जलविद्युत क्षेत्रमा लगानीमार्फत आर्थिक-सामाजिक रूपान्तरणमा केन्द्रित छ,’ उनको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

राष्ट्रपति पौडेलले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गरेकोमा प्रशंसा गरे। उनले बौद्ध धर्मले दुई देशका जनताबीच गहिरो सम्बन्धको सेतुको रूपमा काम गरेको र लुम्बिनीलाई भियतनामीहरूले पवित्र तीर्थस्थलका रूपमा हेर्ने गरेकोमा खुशी व्यक्त गरे।

भियतनामकी उपराष्ट्रपति सुआनले नेपालको सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने र भियतनामको सन् २०४५ सम्म उच्च आय भएको मुलुक बन्ने लक्ष्यलाई जोड्दै सन् २०३० अघि नै दुई देशबीच वृहत सम्बन्धको ढाँचा तयार गर्नुपर्ने आवश्यकता औंल्याएकी थिइन्।

उपराष्ट्रपति सुआनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति स्थापना र जलवायु परिवर्तनप्रति देखाएको प्रतिबद्धताबाट आफू प्रभावित भएको समेत उल्लेख गरेकी थिइन्।

नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन्।

यसअघि उनले उपराष्ट्रपति यादवसँग द्वीपक्षीय प्रतिनिधिमण्डलसहितको भेटवार्ता गरेकी थिइन्। त्यस्तै प्रधानमन्त्रै केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेकी थिइन्। 

उनी भ्रमण पूरा गरेर आजै स्वदेश फर्कने तालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad