गतवर्ष रिलिज भएको ‘बेहुली फ्रम मेघौली’ का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ फिल्म बनाउने भएका छन्। उनीहरूले फिल्म ‘जिरो डिग्री’ बनाउन लागेका हुन्।
सोमबार पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्र घोषणा गरिएको हो। फिल्मको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन्।
‘जिरो डिग्री’ को कथा सडक नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी आई पुगुन्जेलसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ।
यो फिल्म एउटा फ्रिज गाउँसम्म पुर्याउने प्रसङ्ग मात्र नभएर 'लाइट कमेडी' कथा पनि रहेको निर्देशकले बताए। यस फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन्।
चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन्। ‘जिरो डिग्री’ को छायांकन तिहारपछि सुरु हुनेछ र आगामी वर्ष प्रदर्शन गर्ने योजना छ। यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ। चलचित्रका गीतहरूमा अंकितबाबु अधिकारीले संगीत दिनेछन् भने चलचित्र 'ऊनको स्वीटर'को चर्चित गीत 'काफ्ले'का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।
Shares

प्रतिक्रिया