राजनीति


विद्या भण्डारीको सम्पर्क कार्यालयः मदनको तस्बिरमा माल्यार्पण गर्न पुगे ईश्वरदेखि युवराजसम्म (तस्बिरहरू)

विद्या भण्डारीको सम्पर्क कार्यालयः मदनको तस्बिरमा माल्यार्पण गर्न पुगे ईश्वरदेखि युवराजसम्म (तस्बिरहरू)

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १५:९, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्।  

‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट काठमाडौँको नयाँ बानेश्वरस्थित थापा गाउँमा सम्पर्क कार्यालय स्थापना गरिएको हो।  

कार्यालयको उद्घाटन मदन पत्नी विद्याले गरिन्।

कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलगायतका नेताहरू सहभागी भएका छन्। 

यस्तै, नेताहरू सरिता न्यौपाने, बाबुराम गौतम, कृष्ण प्रसाद दाहाल, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, काठमाडौं अध्यक्ष दिपक निरौला, पूर्वमन्त्री महेन्द्र पाण्डेलगायत नेताहरू पुगेका छन्।   

उद्घाटन समारोहमा मदन भण्डारीको तस्बिरमा माल्यार्पण गर्नुका साथै मदनको भाषण पनि सुनाइएको थियो ।

पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न भन्दै आफ्नै संरक्षकत्वमा बेग्लै संयन्त्रको अभ्यास सुरू गरेकी हुन्।

उक्त संयन्त्रका लागि पूर्वराष्ट्रपति भण्डारीले आफ्ना पति एवम् नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालमा चुनावी कार्यक्रमका लागि सम्पर्क कार्यालय खोलेको घरलाई नै सम्पर्क कार्यालयका रुपमा रोजेकी छन्।

बानेश्वरस्थित थापागाउँको लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयको रुपमा उद्घाटन गरिएको छ।  

छोरी उषाकिरण अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन भन्दै डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति घोषणा गरिएको छ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री भएका पौडेल भण्डारीका प्रियपात्र मानिन्छन्।

पूर्वराष्ट्रपति भण्डारीको सक्रियतालाई रोक्न प्रयास गरिरहेका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनलाई भने ‘ठगीखाने भाँडो’ बनेको आरोप लगाएका थिए।

एमालेको राजनीतिमा फर्केको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीलाई रोक्न अध्यक्ष ओलीले केन्द्रीय कमिटीबाटै निर्णय गराएर सदस्यता नवीकरण रोकेका थिए। तर भण्डारी भने मदन भण्डारी फाउन्डेसनमार्फत आफ्नो राजनीतिक गतिविधि अगाडि बढाउन प्रयासरत छिन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad