कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
यसअघि दुई वटा परीक्षण रिपोर्ट पोजिटिभ आएकी ती महिलाको बिहीबार गरिएको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।
धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. शैलेन्द्र बी पोखरेलले ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे।
‘तेस्रो पटक परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियौँ, रिपोर्ट नेगेटिभ आएको खबर आएको छ’, नेपालखबरसँग कुरा गर्दै डा. पोखरेलले भने।
उनले २४ घण्टापछि गरिने अर्को परीक्षणको रिपोर्ट पनि नेगेटिभ आए ती महिलाई डिस्चार्ज गरिने बताए।
ती महिला चैत १९ गते धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्। डा. पोखरेलले महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए।
कतार एयरवेजको विमानमा उनी गत चैत ४ गते नेपाल आएकी थिइन्।
उनीसँगै धौलागिरी अस्पतालमा उपचाररत अर्की १९ वर्षीया युवतीको तेस्रो रिपोर्ट पनि पोजिटिभ आएको डा. पोखरेलले बताए। कोरोना संक्रमण देखिएपछि ती युवती गत चैत १५ गतेदेखि धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत छिन्।
याे पनि : बाग्लुङकी कोरोना संक्रमित: मोबाइलमा चुट्के सुन्छिन्, झ्यालबाट डाँडा हेरेर दिन कटाउँछिन्

प्रतिक्रिया