राजनीति


कानुनमन्त्रीले भने: बहुविवाहलाई मान्यता दिने विधेयक सरकारले ल्याउँदैन

कानुनमन्त्रीले भने: बहुविवाहलाई मान्यता दिने विधेयक सरकारले ल्याउँदैन

नेपालखबर
साउन २१, २०८२ बुधबार १६:१, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई मान्यता दिने कुनै पनि विधेयक सरकारले नल्याउने बताएका छन् ।

बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधनको मस्यौदा तयार गरिएको भन्दै सार्वजनिक समाचारका विषयमा सांसदले प्रश्न गरेका थिए । बुधबार (साउन २१) प्रतिनिधिसभा बैठकमा मन्त्री चौरसियाले सांसदका प्रश्नको जवाफ दिएका हुन् ।

जवाफमा मन्त्री चौरसियाले समाजमा नकारात्मक असर पार्ने खालका कुनै पनि प्रावधानलाई सरकारले विधेयकमा स्थान नदिने बताए । बहुविवाहलाई मान्यता दिने गरी मुलुकी फौजदारी संहिता संशोधन गर्न लागिएको समाचार सार्वजनिक भएको थियो ।

'सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानका आधारमा आएको व्याख्याले आममानिसमा अन्योल र आक्रोश सिर्जना भएको छ। तर, समाजलाई नकारात्मक असर पार्ने बहुविवाहलगायत कुनै पनि विधेयक संसद्मा पेस हुँदैन,' उनले भने, 'सुझावका आधारमा मस्यौदा पनि तयार पारिएको छ। यसका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा. आनन्दमोहन भट्टराई संयोजकत्वको अध्ययन समिति र तत्कालीन महान्यायाधिवक्ता डा दिनमणि पोखरेल संयोजकत्वको कार्यदलका प्रतिवेदनलाई आधार मानेर संशोधन अघि बढाइएको हो।'

उनले सरकारले तयार गरेको मस्यौदा मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेर छलफल समेत गरिएको बताए । छलफलका क्रममा बहुविवाह, विवाहको उमेर, अग्रिम जमानत, राष्ट्रपतिबाट दिइने माफीजस्ता विषयमा थप अध्ययन आवश्यक देखिएको उनले जानकारी दिए । मन्त्रिपरिषद्को विधेयक समितिमा कानुनमन्त्री अध्यक्ष हुन्छन् ।

थप सुझावका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन हेर्ने सचिवको संयोजकत्वमा उपसमिति गठन गरिएको उनले बताए । उक्त उपसमितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयका प्रतिनिधि रहने उनले जानकारी दिए ।

'सरकारले ल्याउने विधेयक माननीय सांसदहरूले राखेका सुझावकै आधारमा परिमार्जन हुनेछ,'मन्त्री चौरसियाले थपे, 'समाजलाई प्रतिकूल असर गर्ने कुनै विधेयक नआउने कुरा स्पष्ट पार्न चाहन्छु।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad