राजनीति


०८४ को निर्वाचनमा हामी एकल बहुमत ल्याउँछौँ: अग्नि सापकोटा

०८४ को निर्वाचनमा हामी एकल बहुमत ल्याउँछौँ: अग्नि सापकोटा

नेपालखबर
साउन २१, २०८२ बुधबार १०:४७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन्।

बुधबार बिहान काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले हालै सकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ उर्जा दिएको बताए। उनले आगामी निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने दाबी गरे। 

‘०८४ को निर्वाचनमा एकल बहुमत ल्याउनेगरि पार्टीका जनवर्गीय संगठन, विभिन्न मोर्चाहरू पार्टी निर्माणमा लागेका छन्,’ सापकोटाले भने, ‘यसअघि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा माओवादीको छुट्टै अस्तित्व नभएको होकी जस्तो देखिएकाे थियाे। अब त्यस्तो हुँदैन। 

उनले जनता, सहिद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएका भन्दै यसबीचमा पार्टीले केही कमजोरी गरेको स्वीकार गरे। 

‘हाम्रो वर्ग दृष्टिकोण अलिकति भुत्ते भयो। अलिकति धुमिल भयो। त्यही वर्ग दृष्टिकोण भुत्ते र धुमिल भएकै कारणले सहिद परिवारप्रति अलि उदासिनता र जनतालाई पनि अलि वेवास्ता भएको जस्तो भएको थियो,’ उनले भने।

पार्टीले २०८४ सालमा एकल बहुमत हाँसिल गर्नको लागि समाजवादी क्रान्तिको रुपरेखा र मागचित्र स्पष्ट पारेको दाबी पनि उनले गरे।

सापकाेटाले २०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रिय समितिको बैठकले समाजवादी क्रान्तिको रुपरेखा, मार्गचित्रलाई प्रष्ट पारेको तर्क गरे।  ‘रुपान्तरण र शुद्धिकरणका लागि हाम्रो पार्टी विगतमा भएका कमी कमजोरीको आत्मासमीक्षा गरेर अगाडि बढिरहेको छ,’ सापकोटाले भने।

दर्शन, विचार, दृष्टिकोण, रणनीति, कार्यनीति, कार्ययोजना र कार्यक्रम लागू गर्ने संकल्पका साथ पार्टीले केही समयअघि हुलाकीमार्ग केन्द्रित अभियान चलाएको उनले बताए।

उक्त अभियानमार्फत जनताको भित्री तहसम्म पुगेर उनीहरूका समस्याका बारेमा अध्ययन गर्ने मौका मिलेको भन्दै उनले महेन्द्रनगरबाट पोखरासम्म सञ्चालन भएको मध्यपहाडी लोकमार्ग अभियानले पनि पार्टीको जनसम्बन्धलाई झनै सुदृढ बनाएको दाबी गरे। 

‘त्यो अभियानमा हामी जनताको भित्रि तहसम्म गयौँ। सहिद परिवार, बेपत्ता परिवार, मधेसका जनताका समस्याका बारेमा अध्ययन गर्न पायौँ,’ उनले भने, ‘अहिले मधेसको सबैभन्दा ठूलो समस्या भनेको सामाजिक विभेद हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad