राजनीति


ओलीको भ्रमण लम्ब्याउन भारतीय पक्षको प्रस्ताव, अयोध्या लगिदेलान् भन्ने नेपालको आशंका

ओलीको भ्रमण लम्ब्याउन भारतीय पक्षको प्रस्ताव, अयोध्या लगिदेलान् भन्ने नेपालको आशंका

सीताराम बराल
साउन २०, २०८२ मंगलबार १९:३६, काठमाडौँ

तुर्कमेनिस्तानको अवाजाबाट २३ साउनमा काठमाडौँ आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक पत्रकारहरूबाट एउटा अप्ठेरो प्रश्न सामना गर्नुपर्ने छैन। सोधिएछ नै भने पनि त्यो प्रश्नको उनले सहजै उत्तर दिन सक्नेछन्। 

‘तपाईंलाई भारत भ्रमणको निम्तो कहिले आउँछ र भारत भ्रमणमा कहिले जानुहुन्छ?’ विदेश भ्रमणबाट फर्कंदा यसअघि सोधिने यो प्रश्न यसपटक पनि सोधियो भने संभवत: ओलीको उत्तर हुनेछ, ‘निम्तो आइसकेको छ, भदौ अन्तिम साता जान्छु।’

ओलीको भारत भ्रमण ३१ भदौ–१ असोज (२०८२) मा गर्ने प्रस्ताव भारतीय पक्षले साउन पहिलो साता राखेको थियो। त्यसपछि ‘प्रधानमन्त्री भएको लामो समयसम्म भारत भ्रमण हुन नसकेको’ धेरैको जिज्ञासाबाट ओली मुक्त भएका छन्। अर्थात् उनी यो मितिमा भारत भ्रमणमा जान तयार छन्। 

तर, भारतीय पक्षले पछिल्लो समय भ्रमण थप एक दिन लम्ब्याउन गरेको प्रस्तावले फेरि प्रधानमन्त्री ओलीलाई केही ‘अप्ठरो’ पारेको छ। ओलीलाई अप्ठरो पार्ने कारण हो– थप गरिएको एक दिन कहाँ लगिने हो भन्ने ‘खुल्दुली’।

‘यसअघि एक रात नयाँदिल्लीमा बास बस्नेगरी ३१ भदौ–१ असोजका लागि भारत भ्रमणको प्रस्ताव गरिएको थियो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘भ्रमणको तयारी चल्दै गर्दा दुई रात बिताउने गरी भारत भ्रमण गरिदिए हुन्थ्यो भन्ने चाहना भारतीय पक्षले राखेको छ।’   

त्यसो त नयाँदिल्लीले साउन पहिलो साता प्रधानमन्त्री ओलीको भ्रमण ३१ भदौ–१ असोजमा हुने प्रस्तावका साथ राय मागेको थियो। मिति नै तय गरेर निम्तोपत्र भने पठाइसकेको थिएन। 

‘उच्चस्तरीय भ्रमणअघि पहिले मिति प्रस्ताव गरिन्छ, दुवै पक्षलाई अनुकूल हुने मिति र एजेन्डा तय भएपछि मात्र औपचारिक निम्तो पठाइने हो,’ ती अधिकारीले भने, ‘प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तोपत्र नै पठाइहाल्नुभएको होइन, भारतीय पक्षले यो मितिमा भ्रमण तालिका मिलाउँदा कस्तो हुन्छ भनेर प्रस्ताव मात्र गरेको हो।’ 

प्रधानमन्त्री भएको एक वर्षमा भारत भ्रमण गर्ने चाहना सार्वजनिक रुपमै व्यक्त गर्दासम्म नयाँदिल्लीबाट निम्तो प्राप्त नभइरहेको स्थितिमा भ्रमणको प्रस्तावलाई बालुवाटारले सकारात्मक रुपमा लिनु स्वाभाविक थियो।

त्यहीकारण सायद भारत भ्रमणका लागि प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीबाट औपचारिक निम्तो नै प्राप्त भैसकेकोजसरी समाचार सार्वजनिक हुनपुग्यो।

त्यसो त, तेस्रोपटक प्रधानमन्त्री बनेदेखि नै ओलीले सार्वजनिक रुपमै ‘मेरो भारत भ्रमण छिट्टै हुन्छ’ भन्दै आएका छन्। यसबीचमा न्युयोर्क र ब्याङ्ककमा भएका भेटवार्तामा मोदीले भारत भ्रमणको ‘निम्तो’ दिएका पनि हुन्। तर, त्यो ‘मौखिक निम्तो’ मा सीमित भइदिँदा ‘लिखित–औपचारिक निम्तो’ प्राप्त भएन।

नयाँदिल्लीद्वारा प्रस्तावित मितिमा प्रधानमन्त्री ओली भारत जाने भएपछि भ्रमणको तयारी सुरु भएको छ। भ्रमणका कार्यक्रम के–कसो हुने विषयमा दुवै पक्षले छलफल थालेका छन्। 

सोही क्रममा भारतीय पक्षबाट एक रातको साटो दुई रात बस्ने प्रस्ताव गरिएको हो। एक रात बस्दा प्रधानमन्त्रीको भारत भ्रमण दुई दिने (३१ भदौ–१ असोज) हुन्छ भने दुई रात बस्दा ३१ भदौ, १–२ असोज गरी तीन दिने हुन्छ।  

परराष्ट्र मन्त्रालयसम्वद्ध स्रोतका भनाइमा भारतको कुनै सांस्कृतिक सम्पदाको समेत भ्रमण गर्ने गरी नयाँदिल्लीले ओलीको भ्रमण थप एक दिन लम्ब्याउने प्रस्ताव गरेको हो। 

ओलीका पूर्ववर्ती प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले १७–२० जेठ २०८० मा भारतको भ्रमण गरेका थिए। त्यसक्रममा प्रचण्डलाई मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरको समेत भ्रमण गराइएको थियो।

नेपाली प्रधानमन्त्रीलाई कुनै सांस्कृतिक सम्पदाको भ्रमण गराउने नीति अनुसार उज्जैन पुगेका प्रधानमन्त्री प्रचण्डले महाकालेश्वर मन्दिरमा पूजाआजा गरेका थिए। ‘कम्युनिस्ट प्रधानमन्त्री’ को भारत भ्रमणका क्रममा भएको महाकालेश्वर मन्दिरको पूजाआजा निकै चर्चाको विषयसमेत बन्यो। 

भ्रमणको तयारीमा संलग्न केही उच्च स्रोतहरूका अनुसार थप एक दिन भ्रमण लब्याउने प्रस्तावले प्रधानमन्त्री ओलीलाई अलि अप्ठेरो पार्नुको कारण प्रचण्डले झैँ कुनै मठमन्दिरमा गएर पूजाआजा गर्नुपर्ला भनेर होइन, सांस्कृतिक सम्पदा भ्रमण गराउने नाममा अयोध्या (उत्तर प्रदेश) पो पुर्‍याइदिन्छन् कि भनेर हो। 

अयोध्या भगवान् रामको जन्मभूमि हो। यही भूमि भारतका हिन्दु र मुस्लिमहरूबीच झण्डै चार सय वर्षदेखि झगडाको विषय बन्दै आएको छ। त्यो झगडाले कैयौँ हिन्दु–मुस्लिमहरूको ज्यान लिएको छ। 

भारतमा मुस्लिम शासनका बेला सोह्रौँ शताब्दीमा त्यहाँ बाबरी मस्जिद निर्माण गरिएको थियो। भगवान रामको जन्मभूमिमा निर्मित मन्दिर भत्काएर मुस्लिम शासकहरूले मस्जिद निर्माण गरिएको भन्दै विश्व हिन्दु परिषदको अगुवाइमा अतिवादी हिन्दूहरूले २१ मंसिर २०४९ (६ डिसेम्बर १९९२) मा बाबरी मस्जिद ध्वस्त पारेका थिए। 

हिन्दु राष्ट्रवादको उभार र भाजपाको सरकार रहेको अनुकूलताको फाइदा उठाउँदै अयोध्यामा अहिले राममन्दिर निर्माण भइसकेको छ। 

प्रधानमन्त्री मोदी अयोध्यामा ‘राममन्दिर’ स्थापनालाई गौरवको रूपमा लिन्छन्, यसर्थ कि त्यो ठाउँ भगवान रामको जन्मभूमि हो। अधिकांश हिन्दुहरू भगवान राम सीतालाई लिन त्यहीँबाट बरियात लिएर जनकपुर (नेपाल) आएको विश्वास गर्छन्। 

यता प्रधानमन्त्री ओली भने अयोध्या भगवान रामको जन्मभूमि हो भन्ने स्वीकार गर्दैनन्। ‘भारतको अयोध्या भगवान रामको जन्मभूमि हो’ भन्ने मान्यतालाई उनले चुनौती दिँदै आएका छन्। 

राम उत्तरप्रदेश (भारत) को अयोध्यामा नभई नेपालमै जन्मेको दाबी उनले शृंखलाबद्ध रूपमा गर्दै आएका छन्। 

भारत भ्रमणका लागि साउन पहिलो साता नयाँदिल्लीबाट प्रस्ताव आउनुभन्दा दुई हप्ताअघि समेत ओलीले यस्तै दाबी गरेका थिए।

२३ असार (२०८२) मा एमालेसम्बद्ध पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘भगवान् रामको जन्मभूमि नेपाल हो भन्न नसक्ने व्यक्तिले गरिखान सक्दैन’ भनेका थिए।  

‘राम भगवान हुन् भन्ने कुरा मान्नु–नमान्नु आफ्नै ठाउँमा छ, तर जसले राम भगवान् हुन् भनेर मान्छ, भगवान रामको जन्मभूमि नेपालमा हो भनेर बोल्दा कोही रिसाउँछ भन्ने लाग्छ भने हामीले के गरी खान्छौँ?’ ओलीको दाबी थियो, ‘वाल्मिकीकृत रामायणमा कोसी नदी तरेर पश्चिम गएर राम–लक्ष्मणलाई शिक्षा दिए भनेर चतरा (सुनसरी) का विश्वामित्रले भनेका छन्। यो कुरा मैले लेखेको होइन।’

दोस्रोपटक प्रधानमन्त्री छँदा प्रधानमन्त्री ओलीले पहिलोपटक भगवान रामको जन्मभूमि चितवनको ठोरीमा भएको दाबी गरेका थिए। चितवन–पर्साको सीमामा रहेको ठोरी रामको वास्तविक जन्मभूमि भएको उनको भनाइ थियो। 

सर्वाेच्च अदालतको परमादेशबाट सत्ताच्यूत हुनुअघि ओलीले भगवान् रामको जन्मभूमि नेपालको ठोरी भएको दाबी गरेका थिए।

ओलीको यो भनाइले भारत र नेपाल दुवैतर्फ तरंग सिर्जना गरेको थियो। सत्तारुढ भाजपाका तत्कालीन प्रवक्ता विजय सोनकर शास्त्रीले ओलीको अभिव्यक्तिको निन्दा नै गरेका थिए।

अप्रमाणित र अनावश्यक अभिव्यक्ति दिएको भन्दै तत्कालीन नेकपाका नेताहरूले पनि ओलीको अभिव्यक्तिको आलोचना गरे। 

प्रधानमन्त्री ओली २०७८ असारमा सर्वाेच्च अदालतको परमादेशबाट सत्ताबाट हट्न बाध्य भए। त्यसपछि पनि ओलीले भगवान् रामको जन्मभूमि नेपाल हो भन्ने भनाइलाई निरन्तरता दिइरहे। 

१३ कार्तिक २०७८ मा एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री छँदा आफ्नो यो भनाइले भुइँचालो गएको उल्लेख गर्दै त्यसप्रति आश्चर्य व्यक्त गरेका थिए।

‘झण्डै एकपल्ट के के न भुइँचालो गएजस्तो भएको थियो,’ ओलीको भनाइ थियो, ‘सत्य कुरा नै त्यही थियो, तर त्यही कुरा भन्दा भुइँचालो जालाजस्तो आँधीहुरी आयो।’  

त्यो कार्यक्रममा पनि ओली भगवान् रामको जन्मभूमि कहाँ हो भन्ने विषयमा बोलिरहेका थिए।  

‘कालिदास पनि हाम्रै हुन् भन्दासमेत हाम्रा छिमेकीहरूलाई कहिलेकाहीँ निकै पीर पर्छ,’ ओलीको भनाइ थियो, ‘राम जन्मभूमि पनि अहिले नेपालमा पर्छ, फैजावादलाई अयोध्या भन्नु झुटो कुरा हो।’  

दोस्रोपटकको प्रधानमत्रित्वकालयता भारतसँग ओलीको सम्बन्ध सुमधुर नहुुनुमा भाजपा सत्ताले संवेदनशील मानेको राम जन्मभूमि सम्बन्धी ओलीको दाबी पनि एक थियो सायद। संविधान नै संशोधन गरेर चुच्चे नक्सा जारी गर्न प्रधानमन्त्री ओलीले खेलेको भूमिकाबाट त भारत असन्तुष्ट थियो नै। भारतको राष्ट्रिय प्रतीक चिन्हलाई लक्षित गर्दै ओलीले ६ जेठ २०७७ मा प्रतिनिधि सभाबाट भारतलाई गरेको प्रश्न– ‘सत्यमेव जयते कि सिंहमेव जयते?’ बाट झन् चिढियो नयाँदिल्ली।

२३ असार (२०८०) को अभिव्यक्ति हेर्ने हो भने प्रधानमन्त्री ओली ‘भगवान रामको जन्मभूमि नेपाल हो’ भन्ने अडानमै कायम रहेको देखिन्छन्।

यो स्थितिमा ओली अयोध्यास्थित ‘राम मन्दिर’ गए भने त्यसको सिधा अर्थ के होला? 

प्रस्ट छ, ‘अयोध्या नै भगवान् रामको जन्मभूमि हो’ भन्ने कुरालाई ओलीले पनि स्वीकार गरे भन्ने सन्देश जानेछ। 

त्यहीकारण नेपाली पक्षले ‘कुनै सांस्कृतिक सम्पदाको समेत भ्रमण गर्ने गरी ओलीको भ्रमण थप एक दिन लम्ब्याउन’ भारतबाट आएको प्रस्तावको निकै सतर्कतापूर्वक विश्लेषण सुरु गरेको छ। 

‘भारतीय पक्षले भ्रमण अवधि थप एकरात लम्ब्याउन खोजेको छ, तर थपिएको एक दिनभित्रको विस्तृत कार्यक्रम प्रस्तुत गरेको छैन, अयोध्या पो लगिदिन्छन् कि भन्ने चाहिँ यताको आशंका हो,’ भ्रमणको तयारीबारे जानकार एक अधिकारीले भने, ‘सम्बन्ध सुमधुर दिशामा अग्रसर भएकाले भ्रमण अवधि लम्ब्याउन समस्या छैन, तर अयोध्या लगियो भने त्यसले प्रधानमन्त्रीलाई समस्यामा पार्ने भएकाले विभिन्न पक्षबाट त्यसको उद्देश्य बुझ्ने प्रयास गरिएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad