नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता जनार्दन शर्माबीचको विवाद सतहमा आएको छ। बैठकमा कतिपय नेताले पार्टी विधि र पद्धतिमा नचलेको भन्दै चर्को आलोचना गरे भने कतिपयले नेतृत्व हस्तान्तरण र प्रचण्डको विकल्पबारे पनि बहस चलाए।
बैठकबाट सिधै नेपालखबरको स्टुडियोमा आइपुगेकी स्थायी समिति सदस्य अञ्जना विशंखेले ‘तत्कालै’मा पार्टीभित्रको समस्या, विवाद र समाधानका उपायबारे विस्तृत रूपमा खुलाएकी छन्।
बैठकमा अध्यक्ष प्रचण्डले नेता जनार्दन शर्मालाई पेलेको र आत्मालोचना गर्न सुझाएको चर्चाबारे उनले घुमाउरो शैलीमा भनिन्, ‘आत्मालोचना कसैले गर भनेर गर्ने कुरा होइन, यो त आफ्नै मनबाट लागेपछि गर्ने कुरा भयो। हाम्रो पार्टीमा विधि–विधान सबैले मिचेका छन् त्यसैले पार्टी समस्याबाट मुक्त छ भन्ने मलाई लाग्दैन।’
विशंखे पार्टीमा देखिएको पछिल्लो विवाद व्यक्तिभन्दा पनि पार्टी सञ्चालनको प्रक्रिया र पद्धतिमा केन्द्रित रहेको बताउँछिन्।
‘अध्यक्षले नै आत्मालोचना गर्नुभएको छ। हाम्रोे बन्न सकेन भन्नुभएकै छ,’ उनले भनिन्, ‘हामीले पनि किन पार्टी बनाउन सकेनौँ भनेर प्रश्न गर्ने नै भयौँ। हामी विधि, प्रक्रिया र पद्धतिमा बस्ने कुरामा जहिले पनि कमजोर हुन्छौँ। महाधिवेशन भएर विधान प्रेसमा गएको हुँदैन, त्यो संशोधन भइसकेको हुन्छ। यस्तो पनि हुन्छ?’

उनको विश्लेषणमा यो कमजोरीको जिम्मेवार अध्यक्ष मात्र नभएर सम्पूर्ण पदाधिकारी टिम नै हो। बैठकमा चक्रीय प्रणाली वा नेतृत्व हस्तान्तरणको विषयबारे उठेको जिज्ञासामा उनले प्रचण्डको लामो नेतृत्वको विरासत भए पनि अब नेतृत्व विकास र हस्तान्तरणको योजना बनाउनुपर्ने बेला आएको बताइन्।
‘प्रचण्डको विकल्प छैन भन्नु विज्ञानविरोधी र मार्क्सवादविरोधी कुरा हो,’ उनले स्पष्ट पारिन्, ‘पार्टी भनेको व्यक्तिको त होइन नि। पार्टीभित्र विकल्प हुँदैन, सोच्नै सकिँदैन भन्ने पनि होइन नि। नेतृत्व बन्ने र बनाइने दुवै प्रक्रिया हो र सक्षम विकल्प तयार हुँदा त्यसलाई स्वीकार्नुपर्छ।’
विशंखे नेपालको राजनीतिमा रहेको ‘चाकडी प्रवृत्ति’ले पनि पार्टीलाई बिगारेको बताउँछिन्।
स्थायी समितिको बैठकले के निर्णय गर्यो त भन्ने जिज्ञासामा उनले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने र दलहरूसँग पूर्ण एकता नभए पनि प्रदेश स्तरमा मोर्चा बनाएर सहकार्य गर्दै जाने निर्णय भएको उनले बताइन्।
बैठकबाट छुवाछुत, बहुविवाहलाई कानुनी मान्यता दिने हल्ला र महिलाको विवाहको उमेर घटाउने जस्ता विषयमा पनि पार्टीले ध्यानाकर्षण गराएको छ।

माओवादीभित्र देखिएको टकराव समाधान विधिमा बस्नु नै रहेको विशंखेको निष्कर्ष छ।
‘मूल नेतृत्वदेखि कार्यकर्तासम्म सबैले नीति र विधि मान्नुपर्छ। मूल नेतृत्वले पनि विधिलाई मान्नुपर्यो,’ उनले भनिन्, ‘विधिमा रहेपछि टकराव हल हुन्छ। यसमा पदाधिकारी टिमको पनि समस्या छ। टिमले अप्ठ्यारो काम गर्न नखोज्ने, अनि सबै जिम्मा अध्यक्षलाई दिएर उम्किने गरेपछि अध्यक्षलाई मात्रै दोष दिएर मिल्दैन।’
अरु के–के भनिन्, हर्नुहोस् नेपालखबर ‘तत्कालै’:
फोटो/भिडिओ : विशाल कार्की

प्रतिक्रिया