यस निर्वाचनमा मतदाताहरू मास्क लगाएर मतदान गर्न गएका छन्। उनीहरू कम्तीमा एक मिटरको दूरीमा उभिएको बीबीसीले जनाएको छ।
मतदानअघि उनीहरूको ज्वरो नापिएको छ। उनीहरूलाई पहिला पन्जा र पछि मतपत्र दिइएको बताइएको छ।
यो निर्वाचनका लागि चार करोड ४० लाख नागरिक मतदाता छन्।
दक्षिण कोरियाले इतिहासमा कहिल्यै निर्वाचन रोकेको छैन। सन् १९५२ मा कोरियाली युद्ध हुँदा पनि त्यहाँ राष्ट्रपतिको निर्वाचन भएको थियो।
कोरोना प्रकोपका बेला पनि निर्वाचन नरोकिएको हो।
यस निर्वाचनमा अस्पतालको शय्यामा रहेका बिरामी, कोरोना संक्रमितलाई पनि मतदान गर्ने अधिकार दिइएको छ। उनीहरुले आफूलाई मनपर्ने व्यक्तिलाई मेलमार्फत भोट गरिरहेका छन्।
यस्तै कोरोनाको आशंकामा क्वारेन्टिनमा राखिएका मानिसहरु बस्ने भवन अगाडि पनि मतदानकेन्द्रको व्यवस्था गरिएको जनाइएको छ।
यस निर्वाचनमा ३५ पार्टीका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्। तर सत्ताधारी पार्टी मिन्जो पार्टी र मुख्य विपक्षी दल कन्जर्भेटिभ युनाइटेड फ्युचर पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ।
हालसम्म दक्षिण कोरियामा १० हजार ५९१ कोरोना संक्रमित छन्। त्यहाँ २२५ को मृत्यु भइसकेको छ।

प्रतिक्रिया