गोरखाको आरुघाट गाउँपालिकामा एक जनालाई कोरोना संक्रमण देखिएको छ। र्यापिड डाइग्नस्टिक टेस्ट (आरडिटी) मा एक युवालाई कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले पुष्टि गरेको हो।
जनस्वास्थ्य कार्यालयका अनुसार आरुघाटमा मंगलबार २० जनाको टेस्ट गरिएको थियो। तीमध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको हो। ‘उनी २३ फागुनमा विदेशबाट नेपाल आएका रहेछन्। नेपाल आएको ३८ दिनपछि आरडिटीमा पोजेटिभ देखियो’, जिल्ला जनस्वास्थ्य कार्यालयका एक अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा नेपालखबरसँग भने, ‘आरडिटीमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गर्न स्वाब पोखरा पठाएका छौं। सम्भवतः आज साँझसम्म त्यसको रिपोर्ट आउनेछ।’
आरडिटीमा कोरोना पोजेटिभ देखिने युवकको स्वास्थ्य अवस्था अहिले सामान्य छ। उनी हाल आइसोलेसनमा छन्। ‘आरडिटी पोजेटिभ देखिएका युवकमा कोरोनाका प्रारम्भिक लक्षणहरु देखिएका छैनन्। पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्र यस विषयमा हामी थप खुलस्त पार्नेछौं’, ती अधिकारीले नेपालखबरसँग भने।
जिल्ला जनस्वास्थ्य कार्यालयले पछिल्लो समय जिल्लामा र्यापिट डाइग्नोस्टिक टेस्टलाई तीब्रता दिएको जनाएको छ। चैत ३० गते गोरखा नगरपालिका क्षेत्रका बासिन्दाको टेस्ट गरिएको थियो। मंगलबार भिमसेन र आरुघाट गाउँपालिकामा परीक्षण गरेको टोली आज शिरान्चोक र अजिरकोट गाउँपालिका परिचालन भएको छ।
आरडिटी टेस्टमा यसअघि काभ्रे, धादिङ र सप्तरीमा ४ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
यो पनि: यी हुन् कोरोना जाँचका दुई विधि, जसले दिन्छन् यसरी नतिजा

प्रतिक्रिया