नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अर्का उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै माइन्युटमा हस्ताक्षर गर्ने कुरामा दायाँबायाँ गर्न नहुने बताएका छन्।
सोमबार स्थायी समिति बैठकमा आफ्नो धाराणा राख्दै उनले माइन्युटमा हस्ताक्षर गर्नुपर्नेमा जोड दिएका हुन्। ‘माइन्युटमा हस्ताक्षर नगर्ने कुरामा दायाँबायाँ हुँदैन,’ श्रेष्ठको भनाइ थियो, ‘माइन्युटमा हस्ताक्षर गरिहाल्नुपर्छ।’
शनिबार नेपालखबरले शर्माले ४ वर्षदेखि उपमहासचिवका रुपमा माओवादी बैठकको माइन्युटमा हस्ताक्षर नगरेको खबर सर्वाजनिक गरेको थियो।
त्यस्तै श्रेष्ठले आन्तरिक बहसलाई सार्वजनिक गर्न नहुने र विधिको पालना गर्नुपर्नेमा पनि जोड दिए। ‘पार्टीभित्रको आन्तरिक बहस सार्वजनिक गर्नु हुन्न,’ श्रेष्ठको भनाइ छ, ‘ विचारलाई सम्मान गर्दै विधिको पालना गर्नुपर्छ।’
उनले थपे, ‘जनार्दनजीले यसमा राम्रो गर्नु भएन।’ अहिले माओवादी पार्टीलाई एकतावद्ध गर्ने बेला भएको र सबै प्रचण्डको विचारमा एकमत हुनुपर्नेमा पनि श्रेष्ठले जोड दिए।
‘अहिले माओवादी पार्टीलाई एकताबद्ध गराउने बेला हो,’ उनको भनाइ छ, ‘सबै एकताबद्ध र अध्यक्षको विचारमा एकमत हुनुपर्छ।’
Shares

प्रतिक्रिया