एमाले विभाजन गरेर गल्ती गरिएछ भन्ने अभिव्यक्तिले तरंग छाइरहेका बेला नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाएको तस्बिर सार्वजनिक भएको छ।
शुक्रबार नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री खनालबीच भेट भएको हो।
त्यसै क्रममा उनीहरूले हात मिलाएको दृश्य क्यामेरामा कैद भएको हो।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईलगायतका विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका थिए।
प्रधानमन्त्री ओलीले अघिल्लो लहरमा रहेका सबै नेतासँग हात मिलाउँदै जाँदा झलनाथ खनालसँग पनि हात मिलाएका हुन्।
बिहीबार राति मात्रै खनालले इमेज च्यानलमा दिएको अन्तर्वार्तामा एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्नु गल्ती भएको बताएका थिए।
जसका विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खनाललाई अब पार्टीमा बस्ने नैतिकता नरहेको भन्दै राजीनामा दिएर बिदा हुन भनिसकेका छन्।
जवाफमा खनालले नेपाललाई तानाशाही बनेको टिप्पणी गरिसकेका छन्।
Shares

प्रतिक्रिया