राजनीति


माधवले झलनाथलाई भने- त्यो बोलेको हो भने पार्टीमा बस्ने नैतिक अधिकार छैन

माधवले झलनाथलाई भने- त्यो बोलेको हो भने पार्टीमा बस्ने नैतिक अधिकार छैन

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १५:३५, विराटनगर

नेकपा एकीकृत साजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फोडेर गल्ती गरेको भनेर टिप्पणी गरेका सम्मानित नेता झलनाथ खनाललाई पार्टी छाडेर जान चेतावनी दिएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले आजकाल त एआईको जमाना पनि छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ भन्दै यदि त्यो बोलेको हो भने पार्टीबाट बिदा गरिदिने बताए।

नेपालले भने, ‘पार्टीमा बस्ने ठाउँ नै रहेन नि, नैतिक अधिकार नै छैन, खुरुक्क राजीनामा दिनु पर्छ बिदा लिएर जानु पर्छ।’

झलनाथ खनाल संस्थागत पार्टीको निर्णय उल्लंघन गर्ने कुरामा एक नम्बर रहेको समेत भन्न भ्याए। उनले रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोधिएकोले कारबाही हुने स्पष्ट पारे। पार्टीको सङ्गठनका निर्णयहरू उल्लंघन गर्ने व्यक्तिहरूलाई कारबाही गरिने नेपालको भनाई छ। 

माधवमाथि नैतिकताको प्रश्न
‘नैतिकताको कुरा गर्ने हो भने त तपाईँले पनि राजीनामा दिनुपर्छ होला नि’ भनी पत्रकारहरूले सोधेको प्रश्नमा नेपालले भ्रष्टाचारको केसमा आफूमाथि नैतिकताको प्रश्न लागू नहुने जिकिर गरे।

‘मेरो केस त कुनै भ्रष्टाचारको केसै होइन, सबै विधि प्रक्रिया पुगेको छ, तलैबाट, जिल्ला, प्रदेश, मन्त्रालय, उपसचिव, सहसचिव, राज्यमन्त्री, पूर्णमन्त्री, क्याबिनेट सर्वसम्मत निर्णयबाट भएको छ,’ उनले भने, ‘सबैको सर्वसम्मत निर्णयबाट भएको छ, कुनै फरक मत छैन, त्यसो भएको हुनाले ऐन, कानुन, संविधानले दिएको छ, सरकारी जग्गा एक टुक्रा पनि उसलाई दिएको छैन।’

आफ्नो निजी जग्गा उसलाई हदबन्दी भन्दा बढी खरिद गर्न उसलाई कानुनले नै अनुमति दिएको बताए। उनले अहिले यही सरकारले पनि निकालेको सूचनामा कसैले हदबन्दी भन्दा बढी जग्गा किनेको छ भने नेपाल सरकारलाई निवेदन दिनुस् भनेर पहिला ३ महिना र पछि फेरि एक वर्षको अवधि दिएको समेत जानकारी गराए। 

आफ्नो निर्णयले कुनै पनि विधि प्रक्रिया उल्लंघन नगेको, कानुन उल्लंघन नभएको र नेपाल सरकारलाई एक पैसा पनि नोक्सान नभएको पनि उनको दाबी छ।

‘यसले नेपाल सरकारलाई फाइदा नै भएको छ,’ उनले भने, ‘पतञ्जलि जस्तो संस्थाले सेयर लगानी गरेको छ, प्रचण्ड, शेरबहादुर, झलनाथ जस्ता सबै कार्यक्रममा सहभागी भएर, योगासन गरेर, कतिपय नेताहरू त उतै हरिद्वार नै गएका थिए।’

उनले आफूमाथि पतञ्जलिको जग्गाको विषयमा भएको छानबिनलाई राजनीतिक पूर्वाग्रह भएको बताएका छन्। एक पैसो पनि आफ्नो जिन्दगीमा हिनामिना नगरेको पनि उनले दाबी गरे। 

विराटनगरमा अध्यक्ष नेपाल

सरकार असफल
सरकारको काम कारबाहीको बारेमा टिप्पणी गर्दै नेपालले सरकार सबै हिसाबले असफल भएको बताएका छन्। केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दा देश पुरै पीडित रहेकोले केपी ओलीलाई बिदा नगर्दासम्म देश नबन्ने दाबी गरे। केपी शर्मा ओलीको कार्यशैलीप्रति कडा टिप्पणी गरे। उनले वर्तमान सरकार परिवर्तन नहुने पनि बताए।

‘शेरबहादुर देउवाजी, केपी ओली जी मिलेसम्म बहुमत छँदै छ नि, उनले भने, ‘अहिले नै सरकार परिवर्तन हुन्छ भनेर कल्पना गरेर बस्ने कुरा पनि आउँदैन। हामी हाम्रो पार्टीलाई बलियो बनाउने काममा लागेका छौँ।’

पार्टी एकीकरणको कुरा भएको छैन
अध्यक्ष नेपालले नेकपा माओवादीसँग पार्टी एकीकरण गर्ने कुरासम्म नपुगेको बताएका छन्। अहिलेसम्म दुई विषयहरू कुरा हुँदा पहिलो समाजवादी मोर्चालाई निरन्तरता दिई सबै घटकहरूसँग राम्रो सम्बन्ध कायम गर्ने र अर्को दुई पार्टीको सम्बन्धलाई विश्वासको जगमा खडा गरी सहकार्यलाई बलियो बनाउने बारेमा छलफल भइरहेको अध्यक्ष नेपालको भनाई छ।

राजनीतिक चुनौतीहरूको सामना गर्ने दलहरूलाई एकताबद्ध बनाएर लिएर जाने विषयमा छलफल केन्द्रित भएको समेत उनले जानकारी दिए।

‘सबै वामपन्थी सबै लोकतान्त्रिक शक्तिहरू जो जो सँग विचार मिल्छ उनीहरूसँग सहकार्य गरेर जाने कुरा छ,’ उनले भने। 

नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीकोबीचमा सहकार्यको मात्रै कुरा भएको तर एकीकरणको कुरासम्म नपुगेको पनि स्पष्ट पारे। उनले अहिले पार्टीलाई बलियो बनाउने काममा लागेको बताएका छन्। पुराना नेताहरू आउने क्रम चलिरहेकोले अब पार्टीलाई बलियो बनाउने काममा आफू लागिरहेको उनको दाबी छ।

वामदेव गौतमलाई के भूमिका दिने भन्ने बारेमा पार्टीको बैठक बसेर निर्णय हुने बताए। उनले अहिले सबैलाई चित्त बुझाएर लग्न गाह्रो भएपनि सबैलाई सँगै लिएर पनि हिँड्नु पर्ने भएकोले छलफलबाट सबैलाई चित्त बुझाएर नै अघि बढ्ने प्रयास भइरहेको बताए। 

एमालेले आफैंलाई सिध्याउँछ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा फर्किने कुरालाई उनले व्यक्तिको इच्छामा भर पर्ने भनेका छन्। संविधान, ऐन र कानुनले रोकेको छैन भने कहाँ जाने र के गर्ने भन्ने विषयमा व्यक्तिको आफ्नो अधिकारको कुरा भएको बताए।

‘उसको अधिकार, उसको चाहनाको आधारमा उसले भविष्य तय गर्न सक्छ,’ उनले भने, ‘त्यो पार्टी भित्रका नेता सुरेन्द्र पाण्डेको अन्तरवार्ता पढ्दा पार्टीमा सदस्यता नवीकरण गर्ने, भूमिका दिने लगायतको आश्वासन दिइएको हुनाले पनि उहाँ अगाडी बढेको हो भन्ने पढ्नमा आएको छ।’

उनले एमाले भित्र ठूलो तमासा रहेको पनि भनेका छन्। 

‘एमाले भित्रको तमासा हेर्दै जानुस्, एमालेले आफूलाई सिध्याएरै छाड्छ, राष्ट्रकै लागि ठूलो नोक्सान पुर्‍याउने स्थितिमा देखिन्छ,’ नेपालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad