राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएको दाबी गरेको छ।
भैरहवामा बुधबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका मुख्य सचेतक सन्तोष परियारले यस्तो दाबी गरेका हुन्। उनले भिजिट भिसाको आवरणमा नेपालमा लामो समयदेखि भ्रष्टाचार र मानव तस्करी भइरहेको बताए।
उनले त्यसलाई रास्वपाले नै नेपाली जनताको घरदैलोको मुद्दा बनाएको दाबी गरे। राज्यले नीति र संरचना बनाएर पनि नागरिकलाई दुःख दिएको रास्वपाको निष्कर्ष छ।
उनले भने, ‘भिजिट भिसाको आवरणमा जुन किसिमको भ्रष्टाचार, मानव बेचबिखन र मानव तस्करी लामो समयदेखि नेपालमा भइरहेको थियो। त्यो मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उठाएर नेपाली जनताको घरघरको मुद्दा र राज्यले नीति बनाएर, संरचना बनाएर आफ्ना नागरिकलाई दिएको दुःखको मुद्दा हामीले संसदमा स्थापित गर्यौँ भन्ने हाम्रो ठम्याइ रह्यो। भ्रष्टाचारका अन्य मुद्दाहरु हामीले संसदभित्र उठायौँ। अहिले पनि आन्दोलनकै क्रममा छौँ।’
उनले भ्रष्टाचारका अन्य मुद्दाहरु पनि संसदभित्र आफूहरूले उठाइरहेको बताए। अहिले पनि रास्वपा आन्दोलनकै क्रममा रहेको उनको भनाई छ।
Shares

प्रतिक्रिया