राजनीति


कुलिङ अफ पिरियडमा एमालेको संशोधनप्रति कोइरालाको टिप्पणीः लोकतन्त्रका लागि खतरा

कुलिङ अफ पिरियडमा एमालेको संशोधनप्रति कोइरालाको टिप्पणीः लोकतन्त्रका लागि खतरा

नेपालखबर
साउन १४, २०८२ बुधबार १५:२८, विराटनगर

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी ऐन संशोधनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो संशोधन प्रस्तावले संविधानको मर्म समाप्त पार्ने खतरा बोकेको बताए।

‘एमालेका पाँच सांसदहरू स्वयंले माथिबाट निर्देशन आएको भन्दै संशोधन प्रस्ताव पठाएको भनी जानकारी आएको छ,’ कोइरालाले भने, ‘संविधान शक्तिपृथकीकरणको आधारमा बनेको हो। तर अहिले भएको संशोधनले लोकतन्त्रको आधारमै चोट पुर्‍याएको छ। यो लोकतन्त्रको लागि गम्भीर खतरा हो।’

उनले संविधान अनुसार संवैधानिक परिषद्‍मा प्रधानमन्त्री, सभामुख, विपक्षी नेता, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख लगायतका वरिष्ठ पदाधिकारी रहने प्रावधान रहेको स्मरण गराउँदै, दुई जनाको मत बहुमत हुने भन्ने राष्ट्रिय सभाको निर्णय संविधानविपरीत भएको जिकिर गरे।

कोइरालाले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विषयमा विश्वास टेकेर गरिएका सहमति भंग भएको भन्दै त्यसमा सरकारका उच्च तहका पदाधिकारी समेत संलग्न रहेको आरोप लगाए। 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारे उठेका प्रश्नमा कोइरालाले त्यसलाई अनावश्यक ढंगले अतिरञ्जित गरिएको प्रतिक्रिया दिए। ‘भेटघाट स्वाभाविक कुरा हो, यसअघि पनि भेटेको थिएँ,’उनले भने। 

संसदीय दलको नेताको विषयमा उनले आवश्यक संख्या बिना कोही पनि हट्न नसक्ने बताए। अहिले बागमती प्रदेशमा भइरहेको  गतिविधिबारे उनले मुख्यमन्त्री हुन दलको नेता हुनैपर्ने बाध्यता संविधान र संसदीय नियममा नभएको जिकिर गरे।

संविधान संशोधनको कुरा हराइसकेको बिषयहरूमा मिडिया पनि मौन रहेको, कांग्रेसमा पनि छलफल नभएको भन्न भ्याए। 

नयाँ सरकार गठनको सन्दर्भमा उनले हालको अवस्थामा कुनै सम्भावना नदेखिएको भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad