माओवादी केन्द्रको कार्यालय (पदाधिकारी) बैठक बस्दैछ।
दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिव दिनानाथ शर्माले जानकारी दिए। स्थायी समिति बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको उनले बताए ।
‘पार्टी संगठन सम्बन्धि छलफल गर्नुछ। हाम्रो मध्यपहाडी अभियान पनि बाँकी छ। त्यसलाई पूरा गर्ने विषय, पार्टीको महाधिवेशन र यही १६ गते बस्ने स्थायी समिति बैठकका एजेन्डा तय गर्न बैठक बोलाइएको हो,’ उनले नेपालखबरसँग भने, ‘बैठकमा आन्तरिक संगठनात्मक विषयमा पनि छलफल हुन्छ।’
माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै आएका छन्।
साउन ६ गते पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले माओवादी नेताको सम्पत्ति छानबिन गर्न स्वतन्त्र निकायलाई जिम्मा दिनुपर्ने बताएका थिए।
उनको अभिव्यक्तिपछि नेताहरू विभाजित भएका छन्।
शर्माले पार्टीको विशेष अधिवेशन माग गर्दै मंगलबार चार बुँदे प्रस्तावसमेत अघि सारेका छन्। आजको बैठकमा यो विषयमा पनि कुरा हुने सचिव शर्माले जानकारी दिए।
Shares

प्रतिक्रिया