प्रधानमन्त्री केपी शर्मा ओलीबाट बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभालाई पुरस्कार प्रदान गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरू नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्बाङ(वैरागी काईँला), भुवन ढुुङ्गाना कोइरालालाई जनही एक लाख रुपैयाँसहित पुरस्कार प्रदान गरेका छन्।
प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहीत स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बीपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए।
'अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने बीपी र हामीहरूलाई थाहा छ। जेल हत्कडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ,' उनले भने, 'अघिल्लो पुस्ताका बीपी कोइरालाहरूले सङ्घर्षका लागि बाटो देखाएका छन्। राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिस्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन्। यी लडाइँमा बीपी प्रेरणाको मियो हुनुहुन्थ्यो। अब बीपी कोइराला र पुष्पलालहरू कुनै दल विशेषका नेता होइनन्, देशकै नेता हुन्।’
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गरेका बीपी कोइरालाले राजनीति र साहित्यमा दिएको योगदानलाई सम्झनामा राखिराख्न सरकारले आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ।
Shares

प्रतिक्रिया