नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य नेपाली कम्युनिस्ट आन्दोलनको प्रतिक रहेको बताएका छन्।
स्वर्गीय नेता कर्माचार्यको स्मृति दिवसमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले नेता कर्माचार्यलाई सरलता, सज्जनता र सही विचारप्रति अविचलित प्रतिवद्धता राख्ने नेता वर्णन गरे।
अध्यक्ष दाहालले २०४६ सालको जनआन्दोलनपछि माओवादी विचारधारा मान्ने शक्तिहरू एकतावद्ध भएको स्मरण गर्दै अध्यक्ष दाहालले त्यही समय उहाँसँग सहकार्य गर्ने मौका पाएको बताए। अध्यक्ष दाहालले स्वर्गीय नेता कर्माचार्यको योगदानको स्मरण गर्दै आफूले सधैँ आफ्नो अभिभावकको रुपमा सम्झिने गरेको बताए।
उनले भने, ‘कमरेड नरबहादुर कर्माचार्य नेपालको कम्युनिस्ट आन्दोलनकै एउटा प्रतिक हो। सरलता र सजहताको पनि प्रतिक। उहाँको स्मृति दिवको अवसरमा उहाँलाई उचित सम्मान गर्ने काम आज भएको छ। उहाँ जहिले पनि सही विचारको आधारमा कम्युनिस्ट एकतामो पक्षपोषण गर्नुहुन्थ्यो। २०४६ सालको जनआन्दोलनको लगत्तै पछि हामी माओवाद या विचार मान्ने शक्तिहरु एकतावद्ध भएका हौँ। उहाँ अध्यक्षको रुपमा र म महासचिवको रुपमा केही समय सँगै काम गर्ने अवसर प्राप्त भयो। त्यतिबेला मैले उहाँलाई एकदमै सरल, इमानदार, निष्ठावान र क्रान्तीकारी विचारप्रति अविचलित रुपले अगाडि बढ्ने एउटा नेता र अभिभावकको रुपमा मैले पाएँ।’
उनले कर्माचार्यको वैचारिक दृढता र संगठकीय प्रतिबद्धता नेपाली कम्युनिस्ट आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताए।
Shares

प्रतिक्रिया