नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसामा विदेश गएर त्यहीँको नागरिकता लिएर बसेको मानिस नेपाल आएर उपप्रधानमन्त्रीसम्म बनेको भन्दै रास्वपालाई भिजिट भिसाप्रति धेरै चिन्तित नहुन आग्रह गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले दुई महिनादेखि भिजिट भिसाको नाममा संसद् अवरोध गर्दै आएको रास्वपा र रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दैभिजिट भिसाकै कारण अहिलेको उपलब्धि प्राप्त गर्नेहरूले धेरै चिन्ता गर्न नसुहाउने भनेका हुन्।
'संसदमा झन्डै दुई महिनादेखि केही साथीहरुले धेरै चिन्ता व्यक्त गरिरहनुभएको छ। धेरै चिन्ता गर्न आवश्यक छैन। हामीले एउटा अभ्यास गरिसकेका छौँ। भिजिट भिसामा यहाँबाट बाहिर जाने, त्यहीँको नागरिकता लिने, त्यहीँ घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने, दुई चार वटा अरु काण्ड पनि मच्चाउने, पार्टी खोल्ने त्यसपछि गृहमन्त्री, अन्य विभिन्नमन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुने अभ्यास हामीले गरिसकेका छौँ,' उनले भने, 'किन चिन्ता गर्नुहुन्छ? भोलि भिजिट भिसामा जाने साथीहरुले त्यही अभ्यास दोहोर्याउलान् नि त। धेरै चिन्तित यसमा किन हुनुहुन्छ? मलाई त यसबाट पनि आश्चर्य लागेको छ, जुन पार्टीको धेरै सांसद, धेरै नेताहरु यही भिजिट भिसाबाट आज यो ठाउँसम्म आइपुग्नुभएको छ। यो सफलताको श्रेणी उक्लिनुभएको छ। त्यही साथीहरु भिजिट भिसाको बारेमा सबैभन्दा बढी चिन्तित भएको पाएको छु। भिजिट भिसामा गएर उतै घरजम गर्नु, उतैको नागरिकता, पासपोर्ट लिनु निश्चय पनि अन्तर्राष्ट्रिय कानुनअनुसार पनि गलत कार्य हो । यो राम्रो कार्य होइन । कुनैपनि देशले राम्रो भन्दैन।’
प्रमुख सचेतक घिमिरेले भिजिट भिसामा गएर बाहिरकै पासपोर्टले नेपालमा आएर देशको उपप्रधानमन्त्रीसम्म बनेको भन्दै यसबारे धेरै चिन्तित नहुन रास्वपालाई आग्रह गरे।
Shares

प्रतिक्रिया