राजनीति


पाकिस्तानी सिनेट अध्यक्षसँग राजदूत धितालको भेटवार्ता, आधा दर्जन बढी विषयमा छलफल

पाकिस्तानी सिनेट अध्यक्षसँग राजदूत धितालको भेटवार्ता, आधा दर्जन बढी विषयमा छलफल

नेपालखबर
साउन ७, २०८२ बुधबार १७:४४, काठमाडौँ

पाकिस्तानका लागि नेपाली राजदूत रीता धितालले त्यहाँको सिनेटका अध्यक्ष युसुफ रजा गिलानीसँग भेटवार्ता गरेकी छन्। त्यसक्रममा अध्यक्ष गिलानीले पाकिस्तानले नेपालसँगको आफ्नो भ्रातृत्व सम्बन्धलाई ठूलो महत्व दिने उल्लेख गरेका छन्। 

हाल सिनेटको अध्यक्ष रहेका गिलानी पाकिस्तानका पूर्व प्रधानमन्त्रीसमेत हुन्। उनी सन् २००८ देखि २०१२ सम्म पाकिस्तानको प्रधानमन्त्रीसमेत थिए। 

सिनेट अध्यक्ष गिलानी र राजदूत धितालबीच आपसी सम्बन्ध, व्यापार, रक्षा सहकार्य, शैक्षिक सहकार्य, धार्मिक पर्यटन, जलवायु परिवर्तन, दक्षिण एसियाली सहयोग संगठन (सार्क) लगायतका आधा दर्जनभन्दा बढी विषयमा छलछफ भएको थियो। 

पाकिस्तानस्थित नेपाली राजदूतावासले जनाएअनुसार राजदूत धितालसँग अध्यक्ष गिलानीले दुई मुलकबीच साझा इतिहास, सांस्कृतिक सम्बन्ध रहेको बताउँदै गिलानीले दुई मुलुकबीच गहिलो पारस्परिक सम्मान रहेको उल्लेख गरेका थिए।  

‘नेपाल–पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने पाकिस्तान प्रतिबद्ध छ’ गिलानीले भने ‘दुई देशबीचको सहयोगलाई गहिरो बनाउन उच्चस्तरीय आदान-प्रदानले महत्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले यस्ता संलग्नतालाई बढाउनु आवश्यक छ।’  

पाकिस्तानका लागि नवनियुक्त राजदूत धितालको त्यहाँको उपल्लो सदन सिनेटका अध्यक्षसँगको यो पहिलो भेटवार्ता हो। त्यसक्रममा अध्यक्ष गिलानीले राजदूत धिताललाई बधाई प्रदान गर्नुका साथै पाकिस्तानमा उनको सफल कूटनीतिक कार्यकालको लागि शुभकामना प्रदान गरेका थिए।  

अध्यक्ष गिलानीले पाकिस्तान र नेपाल बीचको व्यापारको दुई मुलुकबीचको व्यापारबारे पनि चर्चा गरेका थिए। आर्थिक वर्ष २०२४–२५ मा द्विपक्षीय व्यापार केवल ६.४७ मिलियन अमेरिकी डलर रहेको उल्लेख गर्दै द्विपक्षीय व्यापार बृद्धिमा जोड दिनुपर्ने बताएका थिए। 

रक्षा क्षेत्रमा बढ्दो सहयोगप्रति उनी सन्तुष्ट देखिए। त्यसक्रममा पाकिस्तानले नेपालीसेनालाई १ सय १ वटा तालिमका कोटा निःशुल्क प्रदान गरेको स्मरण गरेका थिए। त्यसमध्ये ३१ वटा तालिमका स्लट यसअघि नै नेपालले उपयोग गरिसकेको उल्लेख गरेका थिए।  

सिनेट अध्यक्ष गिलानीले शैक्षिक सहयोगको समेत चर्चा गरेका थिए। पाकिस्तान प्राविधिक सहायता कार्यक्रम अन्तर्गत नेपाली विद्यार्थीहरूलाई वार्षिक २५ छात्रवृत्ति प्रदान गरिएको जानकारी गराउँदै यो पहल भविष्यमा पनि जारी रहने प्रतिवद्दता व्यक्त गरे। 

गिलानीले नेपाल–पाकिस्तानबीच धार्मिक पर्यटनको सम्भावनातर्फपनि जोड दिएका थिए। पाकिस्तान-नेपाल बीचको साझा बौद्ध सम्पदाबारे उल्लेख गर्दै उनले तक्षशिला र लुम्बिनी बीचको ऐतिहासिक सम्बन्धलाई मूर्त पर्यटन अवसरमा रूपान्तरण गर्नुपर्ने बताएका थिए। उनले नेपाली नागरिकहरूलाई धार्मिक पर्यटनको लागि पाकिस्तान भ्रमण गर्न आग्रह समेत गरेका छन्।  

सिनेट अध्यक्ष गिलानी र राजदूत धितालबीच जलवायु परिवर्तनले पारेका असरहरुबारे समेत छलफल भएको थियो। त्यसक्रममा गिलानीले जलवायु परिवर्तनले पारेका प्रतिकूल प्रभाव दुवै देशले भोग्नुपरेको बताउँदै यसबारे चिन्ता व्यक्त गरेका थिए। जलवायु परिवर्तनका असर न्यून गर्न द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी स्तरमा घनिष्ठ सहयोगको महत्वमा उनले जोड दिएका थिए। 

दक्षिण एसियाली सहयोग संगठन (सार्क) को वर्तमान अध्यक्ष र आयोजकको रूपमा नेपालको भूमिकाको प्रशंसा गरेका उनले दक्षिण एसियामा क्षेत्रीय सहयोगको लागि प्रभावकारी प्लेटफर्मको रूपमा सार्कलाई पुनरुत्थान भएको हेर्न पाकिस्तानको चाहना दोहोर्याएका थिए। साथै, निकट भविष्यमा आफ्ना काम नियमित र पूर्णरुपमा सुरु गर्न सार्क सक्षम हुने आशा समेत व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad