गत आर्थिक वर्षमा धितोपत्रको दोस्रो बजारमा ८ ठूला धितोपत्र दलाल कम्पनी (ब्रोकर)ले खर्बमाथिको कारोबार गरेका छन्।
ब्रोकर नम्बर ५८, ४५, ३४, ४२, ४९, ५७, ४४ र ३८ नम्बरका ब्रोकरले खर्ब रुपैयाँमाथिको कारोबार गरेका हुन्।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त ९१ वटा धितोपत्र ब्रोकरले कुल ४२ खर्ब रुपैयाँबराबरको सेयर कारोबार गरेका हुन्। यीमध्ये ८ कम्पनीले गरेको कारोबार खर्बभन्दा बढीको र अन्यले अर्ब हाराहारीमा गरेका छन्।
गत वर्ष ब्रोकर नम्बर ५८ (नासा सेक्युरिटिज) ले सबैभन्दा धेरै कारोबार गरेको छ। यो ब्रोकरले कुल २ खर्ब ५८ अर्बको सेयर कारोबार गर्दा ब्रोकर नम्बर ४५ (इम्पेरियल सेक्युरिटी), भिजन सेक्युरिटी (३४), सानी सेक्युरिटिज (४२), अनलाइन सेक्युरिटिज (४९), आर्यतारा इन्भेष्टमेन्ट (५७), डायनामिक सेक्युरिटिज (४४) र दिपशिखा धितोपत्र कारोबार (३८) ले खर्बमाथिको सेयर कारोबार गरेका हुन्।
गत वर्ष नासा सेक्युरिटिजले १ खर्ब २९ अर्ब रुपैयाँबराबरको सेयर किन्दा सोही अवधिमा १ खर्ब २९ अर्बकै सेयर बेचेको हो। यस्तै इम्पेरियल सेक्युरिटिजले पनि ८३ अर्बको सेयर खरिद र ८७ अर्बको सेयर बिक्री गरेको छ।
भिजन सेक्युरिटिजले भने यो अवधिमा ७७ अर्बको सेयर किनेको थियो भने ७९ अर्बको सेयर बेचेको थियो।
योबाहेक सनी सेक्युरिटिजले ७२÷७२ अर्बको सेयर खरिद र बिक्री गर्दा अनलाइन सेक्युरिटिजले ६८ अर्बको सेयर खरिद गर्दा ७० अर्बको सेयर बिक्री गरेको हो।
यता आर्यतारा इन्भेष्टमेन्टले पनि ६०÷६० अर्बकै सेयर खरिद र बिक्री गर्दा डायनामिक सेक्युरिटिजले ५५ अर्बको सेयर खरिद र ५४ अर्बको सेयर बिक्री गरेको छ। दिपशिखा धितोपत्रले भने यो अवधिमा ५१ अर्बको सेयर खरिद गरेर ५२ अर्बको सेयर बिक्री गरेको हो।
गएको वर्ष धितोपत्रको दोस्रो बजारमा भने कुल २१ खर्बको हाराहारीमा सेयर खरिदबिक्री भएको थियो। यसमा यी आठ कम्पनीको हिस्सा बढी देखिएको हो। नेप्से सूचकले वर्ष दिनभरि ३ हजारमाथि उक्लिन नसके पनि मौसमी रुपमा देखिएका ससाना बुलिस बजारले पनि यो वर्ष कारोबारको संख्या बढाउन उल्लेख्य भूमिका खेलेको हो।
Shares

प्रतिक्रिया