राजनीति


कुश्मा रेलको स्टेशनबारे मेटमणिको प्रश्नमा प्रधानमन्त्रीले भने- व्यंग्य गर्न खोज्नु भयो

कुश्मा रेलको स्टेशनबारे मेटमणिको प्रश्नमा प्रधानमन्त्रीले भने- व्यंग्य गर्न खोज्नु भयो

नेपालखबर
साउन ७, २०८२ बुधबार १५:३३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन योजनाहरू आजको भोलि नै सम्पन्न नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।  

एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रश्नको जवाफ दिने क्रममा उनले आफूलाई व्यंग्य नगर्न पनि आग्रह गरे। 

मेटमणिको प्रश्न-
खरा-काठमाडौं रेलको कुरा गरिराख्दा कुश्मामा रेलको स्टेसनको कुरा गर्नुभएको थियो त्यो विषयमा पनि बजेट बक्तव्यमा समेटिएन। जग्गा अधिग्रहण गर्ने विषय पनि आएन। कुश्माका जनताहरू रेल स्टेसन बन्‍ने विषयमा आशावादी हुनुहुन्छ तर सम्बोधन नभएपछि निराश हुनुहुन्छ। यसबारे प्रष्ट पारिदिनुहुन अनुरोध गर्दछु।

प्रधानमन्त्रीको जवाफ-

नेपाल सरकारले रेल पूर्वाधार विकास र विस्तारका लागि तत्कालीन रेलवे निर्माण आयोजना मार्फत मेची-महाकाली विद्युतीय रेलमार्ग र पोखरा-काठमाडौं विद्युतीय रेलमार्ग समेत गरी कुल १ हजार ३ सय १७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्‍न गरेको छ। पोखरा-काठमाडौं-लुम्बिनी रेलमार्गका लागि समेत स्रोत खोजी गर्ने सन्दर्भमा मित्र राष्ट्र चीनको सहयोगमा प्रारम्भिक सम्भाव्यता अध्ययन भएको छ। सम्भाव्यता एवं विस्तृत अध्ययनका आधारमा रेलवे पूर्वाधारहरूको निर्माण कार्य क्रमश: अगाडि बढाइनेछ। कुश्मामा रेल्वे स्टेशन भनेर व्यङ्ग्य गर्न खोज्नु भएको बुझिन्छ। यस्ता दीर्घकालीन महत्वका परियोजनाहरु पोहोर प्रस्ताव राखेर अहिले पूरा हुने योजना होइनन् । त्यो हाम्रो विकासको सपना हो, यो पनि पूरा हुने दिन आउँछ। पहिले दैलेखमा ग्यास उत्खनन् गर्छु भन्दा यस्तो ब्यङ्ग्यात्मक प्रश्न आउँथे । अब ११२ अर्ब घनमीटर ग्यास रहेको र अर्को वर्षदेखि उत्पादन हुन्छ भनेपछि व्यङ्ग्य गर्नेहरु त्यसमा हाम्रो पनि योगदान छ भन्न थालेका छन्। यो रेल्वेका बारेमा पनि अहिले ब्यङ्ग्य गर्ने माननीयले पछि हाम्रो पनि योगदान छ, एकलौटी जस लिन पाइँदैन भन्नु हुने छ भन्ने मलाई लाग्छ।
 
मेटमणिको अर्को प्रश्न- 
सांसदहरूको प्रश्‍नको जवाफ दिनेक्रममा दाङ जिल्ला स्थित टरीगाउँ एयरपोर्ट सञ्‍चालन हुने गरी बजेट छुट्याउँछु भन्‍नुभएको थियो। तर बजेट वक्तव्यमा १ करोड रुपैयाँ मात्रै विनियोजन गरेको देखियो। जबकी यो परियोजनाको लागत मूल्य नै ३ अर्ब २४ करोड रूपैयाँ रहेको छ। यो अवस्थामा एयरपोर्टको सञ्‍चालन कसरी हुन्छ? दाङका जनताहरू दाङ-काठमाडौं र काठमाडौं-दाङमा ७२ सिटर जहाजमार्फत ओहोरदोहोर गर्ने दिन कहिले आउला? तपाईंले सम्मानित सदनमार्फत हामीलाई कसरी विश्वास दिलाउनुहुन्छ?

प्रधानमन्त्रीको जवाफ-
दाङ जिल्लामा अवस्थित टरीगाउँ विमानस्थलको स्तरोन्‍नति कार्यलाई थप प्रभावकारी बनाउन सरकारले निरन्तर प्राथमिकता दिँदै आएको छ। गत आर्थिक वर्ष ०८१-०८२ मा रु. १ करोड बजेट विनियोजन गरिएको र चालु आर्थिक वर्ष ०८२-०८३ मा पनि थप रु. १ करोड बजेट विनियोजन गरिएको छ। यो विमानस्थलको स्तरोन्‍नति हवाई सेवा विस्तारका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ। जसबाट दाङ, सल्यान, रुकुम, सुर्खेत र प्युठानका केही भाग लगायतका जिल्लाको आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा उल्लेखनीय टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। सरकारको दीर्घकालीन योजना अनुसार यस विमानस्थलको स्तरोन्‍नति कार्य अगाडि बढाइनेछ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad